राजनीति


नेतृत्व नछाड्ने देउवाको जिद्दीले रातभरको वार्ता विफल, अब कांग्रेसमा के हुन्छ?

नेतृत्व नछाड्ने देउवाको जिद्दीले रातभरको वार्ता विफल, अब कांग्रेसमा के हुन्छ?

नेपालखबर
पुस ३०, २०८२ बुधबार ८:३३, काठमाडौँ

विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि अन्तिम प्रयास गरिने भएको छ। 

विशेष महाधिवेशन पक्ष र संस्थापनबिच मंगलबार रातभर विभिन्न चरणका वार्ता भए पनि सभापति शेरबहादुर देउवा नेतृत्व छाड्न तयार नभएपछि सहमति हुन सकेको छैन।

यद्यपि संस्थापनले सहमतिका लागि अन्तिम प्रयास गरिरहेकाले त्यसलाई पनि विचार गर्दै निर्वाचन प्रक्रिया अघि बढाइएको विशेष महाधिवेशन प्रचारप्रसार उपसमितिका संयोजक सुवास पोखरेलले जानकारी दिए। 

‘हाम्रो निर्वाचनको तालिका यथावत् छ। उताबाट वार्ताको प्रयास भइरहेको छ भन्ने आएको छ’, उनले भने, ‘हामी त्यसलाई पनि सम्मान गर्छौँ। यदि सहमति नभए हाम्रो कार्यक्रम अगाडि बढ्छ।’

यसअघि पोखरेलले मंगलबार बेलुकी नै विषेश महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्दै मंगलबार राति पनि सहमति नजुटे निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिने बताएका थिए।

उनले संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार भए पनि सभापति देउवा नेतृत्व छाड्न तयार नभएको र यसबाहेक अन्य कुरा स्वीकार नहुने बताए।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन मंगलबार साँझ पारित भइसकेको छ। 

यसैबीच विशेष महाधिवेशनका नेताहरूले पदाधिकारीको खाकासमेत तयार गरिरहेको बताएका छन्। 

बुधबार बिहान वार्ताको ढोका खुला राखिरहँदा निर्वाचनको नयाँ तालिका अनुसार प्रक्रिया पनि अगाडि बढ्ने भएको छ।

उम्मेदवारी दर्ताका लागि आज बिहान ९:१५ बजेसम्मको समय थप गरिएको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए। 

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको पन्ध्रौँ महाधिवेशन आगामी वैशाखमा गर्ने कार्यतालिका बहुमतबाट पारित गरेको भए पनि त्यसमा असहमत महामन्त्रीद्वय थापा र शर्मा अगुवाइमा पुस २७ देखि भृकुटीमण्डपमा विशेष महाधिवेशन भइरहेको हो। 

पुस २८ मा बन्दसत्र सुरु गरिएको विशेष महाधिवेशन हिजो २९ गतेदेखि निर्वाचनतर्फ अघि बढेको हो। तर पनि संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरलाई संवादमा बोलाएर सहमतिमा पुग्ने प्रयास गरिरहेको छ। 

यस क्रममा मंगलबार बिहानैदेखि सभापति देउवा पक्ष, नेता शेखर कोइराला पक्ष र विशेष महाधिवेशन आयोजकबीच त्रिपक्षीय छलफल जारी छ। तर त्यसबेलादेखि मंगलबार रातभर विभिन्न चरणमा वार्ता भए पनि अहिलेसम्म सहमति हुन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad