नेपाली कांग्रेसले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई पार्टीको निर्णयविरुद्धमा नजान चेतावनी दिएको छ।
मंगलबार पार्टी एकीकृत बनाएर लैजानेबारेमा विभिन्न चरणमा छलफल भएको बताउँदै बुधबार बिहानसम्म सहमतिका साथ अघि बढ्न आग्रह गरेको हो।
यदी महामन्त्रीद्वयले पार्टीको केन्द्रीय समितिले गरेको बैठकको निर्णय नमाने अन्य निर्णय लिनुपर्ने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले चेतावनी दिए।
वार्ता र संवादबाट नै सहमति खोज्नका लागि संस्थापन पक्षले अधिक लचकता देखाइरहेको उल्लेख गर्दै उनले सम्पूर्ण पार्टी पंक्ति एक भएर निर्वाचनमा जानुपर्ने बताए।
अहिले विभाजन र विग्रहतर्फ उन्मुख हुने बेला नभएको उनको भनाई थियो। अझै आफूहरु सकारात्मक नतिजा निस्किनेमा आशावादी रहेको महतले बताए।
समग्र पार्टीलाई जोडेर आम निार्वचनमा जाने र राम्रो परिणाम हासिल गरेपछि नियमित अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने महतले बताए।
उनले भने, ‘वार्ता र संवाद नेतृत्व तहबाट भइ नै रहेको छ। आज छलफल गर्दै गर्दा पनि हाम्रो कोशिस छलफल गरेर सम्पूर्ण पार्टी पंक्ति एक भएर जानुपर्छ। त्यसपछि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्नेमा स्पष्ट छौँ। एकातिर विशेष अधिवेशन भनेर गरिरहँदा हाम्रो नेतृत्वले अहिले विभाजन र विग्रहतर्फ उन्मुख हुने होइन,अहिले एक हुने बेला हो। त्यही किसिमबाट सम्पूर्ण पार्टीको तलदेखि माथिसम्मको कमिटीलाई आह्वान गरिएको हो। अझै पनि सकारात्मक नतिजा निस्किन्छ की भन्नेमा छौँ।’
उनले थपे, ‘पार्टीलाई जोडेर हामी आम निर्वाचनमा जाऔँ। सबै एकजुट भएपछि पार्टीको पक्षमा राम्रो परिणाम आउँछ। त्यसपछि पार्टीको नियमित अधिवेशनबाट नयाँ नेतृत्व आउँछ। अब विग्रहको बाटोमा जानुहुन्न। स्वभाविक, मजुबत गर्ने विषयलाई पार्टी केन्द्रीय समितिले समावेश गरेर अघि बढ्नसक्छ। राति बेलुकासम्म पनि समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने भन्ने नेतृत्वको लचकता रहेको छ।’
केन्द्रीय कार्य समितिको बैठक बुधबार बिहान पुनः बस्नेछ।
Shares

प्रतिक्रिया