राजनीति


देउवा र खड्कालाई महेश आचार्यको अनुरोध: आँगनमा आएका साथीलाई अपिल होइन, अंकमाल गर

देउवा र खड्कालाई महेश आचार्यको अनुरोध: आँगनमा आएका साथीलाई अपिल होइन, अंकमाल गर

शेरबहादुर देउवा, पूर्णबहादुर खड्का र महेश आचार्य


नेपालखबर
पुस २९, २०८२ मंगलबार ८:३२, काठमाडौँ

नेपाली कांग्रेसका नेता महेश आचार्यले सभापति शेरबहादुर देउवालगायत पार्टीका शीर्ष नेतालाई विशेष महाधिवेशनका लागि घरआँगनमै आइपुगेका कार्यकर्ताहरूलाई अपिल होइन, अंकमाल गर्न अनुरोध गरेका छन्। 

काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहँदा सोमबार कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा असर पर्ने गतिविधि नगर्न अपिल गरेका थिए। तर देउवा, खड्कासहित संस्थापन पक्षका शीर्ष नेता जारी विशेष महाधिवेशनमा उपस्थित भएका छैनन्। 

यसै सन्दर्भमा नेता आचार्यले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत शीर्ष नेतृत्वप्रति असन्तुष्टि पोखेका हुन्। 

‘आँगनमा उभिएको साथीलाई अपिल होइन, कृपया! अंकमाल गर’, उनले लेखेका छन्, ‘अहिले गाउँगाउँ र नगरबाट सभापतिजी र नेताका घरआँगनमै महाधिवेशनका हजारौँ ऊर्जाशील साथीहरू विशेष महाधिवेशनका सन्दर्भमा उपस्थित हुनुहुन्छ। आफ्ना सभापति र नेतालाई अभिवादन गर्न, चुनावमा पार्टीको जितप्रति आश्वस्त हुँदै संगठनको ऊर्जा बोकेर घर फर्किने आशामा हुनुहुन्छ। तर हाम्रो पार्टीको नेतृत्व-पंक्ति आफ्ना साथीका माझ आउने, तिनका कुरा सुन्ने र प्रेरणाका दुई शब्द भन्न पनि नचाहने मानसिकतामा किन हुनुहुन्छ?’

प्रश्न गर्दै उनले अगाडि लेखेका छन्, ‘भोलि जहाज र मोटर चढेर जसलाई सम्बोधन गर्न र उत्प्रेरित गर्न जानुपर्छ, तिनै साथीहरू हजारौँको संख्यामा नेताका घरआँगनमै आएको बेला, लाखौँ मतदाताको, सञ्चार जगत् र बुद्धिजीवीको रुचि र ध्यान विशेष महाधिवेशनमा केन्द्रित भएको बेला पार्टीका साथीहरूको उपस्थिति र उत्साहलाई बेवास्ता गर्ने नेतृत्वको व्यवहार के चुनाव जित्ने रणनीति हो र? आफ्नै साथीको गुनासो र असहमति व्यवस्थापन गर्न नचाहने नेतृत्व र पार्टीले जनताको यति धेरै बढेको नैराश्य र गुनासो कसरी सम्बोधन गर्ला भन्ने चुनौतीपूर्ण प्रश्न के हामीप्रति तेर्सिंदैन होला?’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad