राजनीति


जेनजीसँग हर्क साम्पाङ : म देशकै मुद्दा बोकेर हिँडेको मान्छे तपाईँहरूको किन बोक्दिनँ?

नयाँ पार्टीका नेताविरुद्ध स्टाटस नलेख्न जेनजीको अनुरोध
जेनजीसँग हर्क साम्पाङ : म देशकै मुद्दा बोकेर हिँडेको मान्छे तपाईँहरूको किन बोक्दिनँ?

नेपालखबर
पुस २८, २०८२ सोमबार २२:१२, काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग ‘काउन्सिल अफ जेनजी’ कोसी प्रदेशका १४ जिल्ला संयोजकहरूले छलफल गरेका छन्। 

हालसम्म कुनै दलमा आवद्ध नभएका काउन्सिल अफ जेनजीका अगुवाहरूले विभिन्न दलसँग भेटघाट गर्ने क्रममा आज (सोमबार) श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पासँग भेट गरेका हुन्।

त्यसक्रममा जेनजीका एजेन्डा, आगामी निर्वाचनमा जेनजीको सहभागिता र श्रम संस्कृति पार्टीका योजनाबारे छलफल भएको जेनजी अगुवा उपार्जुन चाम्लिङले जानकारी दिए।

‘माटो (हर्क साम्पाङ)लाई भेटेर हाम्रो सरकारसँग भएको सम्झौतालाई कसरी लिने? पार्टीको घोषणा पत्रमार्फत भोलि सदनमा तपाइँको पार्टीले कसरी बोक्छ त? त्यसलाई बोक्न सक्छ भने मात्रै जेनजीले समर्थन गर्न सक्छ भन्यौँ’ उपार्जुनले नेपालखबरसँग भने, ‘उहाँको जवाफ ‘म देशकै मुद्दा बोकेर हिँडेको मान्छे जेनजीको मुद्दा किन बोक्दिन त?’ भन्नुभयो।’

छलफलका क्रममा जेनजी अगुवाहरूले श्रम संस्कृति पार्टीभित्र जेनजीलाई सहभागिता गराउँदा कसरी व्यवस्थापन गर्नुहुन्छ भनेर जिज्ञासा राखेका उपार्जुनले बताए।

यस्तै, उनीहरूले हर्क साम्पाङले नयाँ दलप्रति गर्ने गरेका व्यंग्यात्मक टिप्पणीले कसैलाई पनि फाइदा नगर्ने बताएका थिए। उनीहरूले नयाँ दलले अर्को नयाँ दलको विरोध गर्दा जनतामा ‘यी सबै यस्तै त हुन्’ भन्ने भान पर्ने भन्दै साम्पाङको टिप्पणीले आफूहरूलाई निराश बनाएको उल्लेख गरे। 

‘पछिल्लो समय तपाइँले पुराना दललाई भन्दा नयाँ दलविरुद्ध टिप्पणी गरिराख्नुभएको छ। तपाइँको स्ट्याटसले जेनजी पुस्ता निराश छन्’ छलफलमा आफूहरूले राखेको विषयबारे उवपार्जुनले भने, ‘पुरै जेनजी पुस्तालाई निराश बनाएर चुनावमा जाने कुराले कुनै निकाश दिन सक्छ कि सक्दैन ख्याल गर्नुपर्छ।’ 

उनले थपे, ‘तपाइँप्रति जेनजीहरूको विश्वास, अपेक्षा धेरै छ। तर, तपाइँको कतिपय कुराले जेनजीहरू निराश छन्। सकेसम्म नयाँ दलहरूलाई मिलाएर क्षेत्रीय गठबन्धन भएपनि गरेर जानुपर्छ है भन्ने कुरा भयो।’

काउन्सिल अफ जेनजीका अगुवाहरूले पछिल्लो समय विभिन्न दलसँग भेटेर आफ्ना एजेन्डाबारे छलफल गरिरहेका छन्।

उनीहरूले केही दिनअघि नेपाली कांग्रेसका नेता गगन थापा र नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग छलफल गरेका थिए।

अब राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गर्ने उपार्जुनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad