नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिकलगायतका विषयमा विभिन्न प्रस्ताव पेश गरिने भएको छ।
सोमबार बिहान विशेष महाविधेशनको कार्यविधि पारित भएसँगै बन्दसत्रमा पेश हुने प्रस्ताव टुंगो लागेको हो। बन्दसत्रमा समसामयिक राजनीतिक समीक्षा र राजनीतिक तथा पार्टी नीतिसम्बन्धी प्रस्ताव पेश हुने भएको छ। विधानको आवश्यक संशोधन, परिमार्जन र पार्टीको संरचनागत र संगठनिक सुधार सम्बन्धी प्रस्ताव पेश हुने भएको छ।
त्यस्तै, कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमिति विघटन गरि नयाँ नेतृत्व चयन गर्ने सम्बन्धी प्रस्ताव पनि छ। यसमा भनिएको छ, ‘नेपाली कांग्रेसको १४औँ महाधिवेशन २०७८ (मंसिर २४ देखि २८) बाटठ निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकोले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मको लागि नयाँ केन्द्रीइ कार्यसमितिको निर्वाचन गर्ने भन्ने उल्लेख छ।
कार्यविधिमा गत महाधिवेशनपछि गठन भएका केन्द्रीय समितिहरू पनि विघटन गर्ने प्रस्ताव भएको छ। जसमा भनिएको छ, ‘नेपाली कांग्रेसको १४औँ महाधिवेशन पश्चात नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम विभिन्न मितिमा गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति समेतको विघटन।’
यस्तै, नयाँ निर्वाचन समिति गठन गर्ने प्रस्ताव पनि पेश हुने भएको छ। बन्दसत्रमा लागि ‘विशेष केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ बमोजिम एक जना संयोजकसहित पाँच सदस्यीय निर्वाचन समिति गठन’ गर्ने कार्यविधिमा उल्लेख छ।
विशेष महाधिवेशनका निर्णय प्रमाणित गर्न छुट्टै समिति बनाउने प्रस्ताव पनि पेश हुने भएको छ। यसका लागि कार्यविधिमा भनिएको छ, ‘विशेष केन्द्रीय महाधिवेशनले गरेका निर्णय प्रमाणित गर्नका लागि संयोजकसहित पाँच सदस्यीय निर्णय प्रमाणिकरण समिति गठन।’
विशेष महाधिवेशनको बन्दसत्रमा यसअघिको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय संशोधन गर्नसकिने पनि प्रस्ताव गरिएको छ। कार्यविधिमा ‘केन्द्य्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयहरूको पुनरावलोकन, सुधार र आवश्यक देखिएमा उक्त समितिका निर्णयहरू निष्क्रिय तथा खारेजी’ गर्ने उल्लेख छ।
यससँगै विशेष महाधिवेशनलाई वैधानिक गर्ने पनि प्रस्ताव पेश हुने भएको छ। बन्दसत्रले पारित गरेको कार्यविधिमा भनिएको छ, ‘मिति २०८२ पुस २७ र २८ गते बोलाइएको विशेष केन्द्रीय महाविधेशन वैधानिक रहेको भनि अनुमोदन।’
यससँगै समसामयिक राजनीतिक समीक्षासम्बन्धी प्रस्तावमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले छुट्टाछुट्टै प्रतिवेदन र प्रस्ताव पनि पेश गर्नसक्ने विशेष महाधिवेशनको कार्यविधिमा व्यवस्था गरिएको छ।
Shares

प्रतिक्रिया