कार्यक्रम सुरु नहुँदै भरिएको भृकुटीमण्डप साँझ ६ः२५ मा प्रमुख वक्ताका रूपमा कांग्रेस महामन्त्री गगन थापा आउँदा पनि उस्तै खचाखच थियो।
कार्यक्रम सञ्चालकले गगनको नाम लिनासाथ गुन्जिएको माहौल जब उनी बोल्न थाले शान्त र धैर्य बन्दै गयो। सबैको ध्यान खिचे र भाषणले मन्त्रमुग्ध बनाए गगनले।
‘यति लामो समय टसमस नभई राजनीतिक कार्यक्रममा बसेको कहीँ पनि देखेको थिइन। यो महाधिवेशनको नाम मात्र विशेष होइन, यसलाई विशेष बनाएर टुङ्ग्याउनु पर्नेछ’, गगनले सम्बोधनको सुरुवातमा भने।
तर विशेष भनिएको महाधिवेशनमा कांग्रेसका अधिकांश शीर्षनेताहरु थिएनन्। सभापति शेरबहादुर देउवा, दुवै उपसभापति, बहुमत सहमहामन्त्रीहरू र पूर्व पदाधिकारी उपस्थित थिएनन्। विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेका थिए।
गगनले नै भने, ‘पार्टी सभापतिले उद्घाटन गरेको हेर्न चाहन्थ्यौँ, त्यो नभए कार्यबाहक सभापति उपस्थित हुनुभएको चाहन्थ्यौँ।’
भृकुटीमण्डपमा बहुमत प्रतिनिधिसँग नदेखिएका देउवा महाराजगन्जको एकतले घरमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित आफू पक्षीय नेताहरूसँग दिनभर जसो छलफलमा थिए।
देउवासँग छलफल गरेका केन्द्रीय सदस्य रमेश लेखक भन्छन्, ‘आज यही विषयमा (विशेष महाधिवेशन) छलफल भएको हो। सभापति ज्युको कुरा पार्टी जसरी पनि जोगाउनुपर्छ भन्ने नै छ।’
अहिलेको परिस्थितिको विश्लेषण गरिरहेको र अन्तिम समयसम्म पनि पार्टी विभाजनमा नजाओस् भन्नेमा प्रयत्न गरिरहेको लेखक बताउँछन्
सभापति देउवा पक्षका नेताहरू गगन–विश्वको गन्तव्यसँग प्रस्ट छैनन्। उनीहरूलाई त यसअघि यो भेला होला भन्नेसम्म पनि विश्वास थिएन। प्रतिनिधि सभाको समानुपातिक सूचीका लागि र राष्ट्रिय सभाको उम्मेदवारका लागि बार्गेनिङ गरिरहेका छन् भनेर बुझेका थिए।
पुस १८ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वैशाख अन्तिममा गर्ने गरी महाधिवेशनको तालिका ल्यायो। दुवै महामन्त्रीसहितका नेताको विमतिका बाबजुद बहुमतले पारित भएकै तालिकामा उनीहरूलाई लतार्ने बुझाइ देउवा पक्षका नेताहरूको थियो।
गगन विश्वले भने विशेष महाधिवेशनको तयारी पनि सँगसँगै अगाडी बढाइरहेका थिए। पहिल्यै बहुमत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेकाले उनीहरूलाई यहीँबाट अगाडी बढ्न थप सहज थियो। हस्ताक्षर गरिसकेका महाधिवेशन प्रतिनिधि पनि पछि हटेर फागुन २१ को चुनावपछि जान सहजै तयार थिएनन्।
समानुपातिकको सूची र राष्ट्रियसभाको उम्मेदवारी छनौटले कार्यकर्तालाई थप रुष्ट बनाएको थियो। सोही आन्दोलनपछि कार्यवाहक पूर्णबहादुरलाई सुम्पिएका देउवाले उम्मेदवार छनोटमा पहिलेकै जसरी आफ्नै मर्जीमा गरे।
जसले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पार्टीभित्र उठेको नेतृत्व परिवर्तनको बहसलाई गति दियो। त्यही भएर देउवा र शेखर कोइराला समूहले रोक्न जोडबल गर्दा पनि बहुमत प्रतिनिधि काठमाडौँ हानिए।
यसअघि पार्टीलाई एकजुट बनाउनपर्छ, विशेष महाधिवेशन पहिलेनै एउटा निचोडमा पुग्नुपर्छ भनेर अभियान चलाएका ३० जना केन्द्रीय सदस्यले पनि आइतबार दिउँसो २ बजे भृकुटीमण्डपकै बाटो लिए।

पार्टी एकताका लागि पहल गरिरहेकी नेतृ डिला संग्रौलालले भनिन्, ‘हामीले एकताका लागि पहल गरिरहेका थियौँ। तर संस्थापन भनिएका नेताहरूले त हामीलाई भेट्न समेत मानेनन्। त्यसपछि हामी कुपन्डोलमा बैठक बसेर निर्णय गर्दै २ बजे भृकुटीमण्डप छिर्यौँ।’
यो समूहले सोमबार पनि बैठक बसेर विशेष महाधिवेशनमा जाने तयारी गरेको छ। यी बाहेक शेरबहादुर र शेखर समूहका धेरै नेता विशेष महाधिवेशनमा सहभागी भएका छन्।
पूर्व उपसभापति गोपालमान श्रेष्ठ, शेखर समूहबाट १४ औँ महाधिवेशनमा उपसभापतिका प्रत्याशी चन्द्र भण्डारी, महेश आचार्य, नरहरि आचार्य, विनोद चौधरी, सुनिल शर्मा, उदय शमशेर जबरा, पुष्पा भुसाल, राजेन्द्र कुमार केसीदेखि कोसी प्रदेशमा विद्रोह गरेर मुख्यमन्त्री बनेका शेखर निकट केदार कार्की पनि विशेष महाधिवेशनमा सहभागी छन्।
यस्तै तारानाथ रानाभाट, ओमकार प्रसाद श्रेष्ठ, डा. सुरेन्द्र चौधरी, भरत शाह, चीनकाजी श्रेष्ठ र अर्जुन जोशी पनि विशेष महाधिवेशनतिर लागे।
यसअघि जिल्ला जिल्लाबाट विशेष महाधिवेशनमा नआउन संस्थापन पक्षले परिपत्र गरेको थियो। कार्यकर्तालाई परिपत्र गरेका देउवा समूहले केन्द्रीय नेताहरूलाई नै रोक्न सकेनन्।
तर कांग्रेस प्रवक्ता प्रकाश शरण महत भने विशेष महाधिवेशन पक्षले दाबी गरे जति प्रतिनिधि नआएको दाबी गर्छन्।
‘उनीहरूले दाबी गरे जति महाधिवेशन प्रतिनिधि आएकै छैनन्। अरू मान्छे छन्’, महतले आइतबार बेलुका नेपालखबरसँग भने, ‘यो विशेष महाधिवेशनले कुन बाटो लिने हो भन्ने नियालिरहेका छौँ। उहाँहरूले अब के आशयकासाथ गर्नु भएको छ, त्यो त उहाँहरूलाई नै थाहा होला।’
पार्टीले नियमित महाधिवेशनको निर्णय गरिसकेकाले अब नियमित भएन भने मात्रै विशेष हुने जिकिर गर्दै महतले नियमित महाधिवेशनकै बाटोमा विशेष महाधिवेशन पक्षधरहरू पनि आउने विश्वास गरे।
‘उहाँहरूले विशेष महाधिवेशन भनेर यो गर्नै हुँदैनथ्यो। विशेष महाधिवेशनको प्रस्ताव कमिटीमा पनि ल्याउनु भएन। बाहिर गएर आह्वान गर्नुभयो। यसअघि नियमित गर्न नसकेको कुरा उहाँहरूलाई पनि थाहा छ, छोटो समय थियो’, महतले भने, ‘संशोधित कार्यतालिका हामीले नै पारित गर्यौँ। अब त्यही अनुसार महाधिवेशन गर्ने हो। त्यसैले नयाँ नेतृत्व चुन्छ। त्यही पनि उहाँहरूले विशेष महाधिवेशन बोलाउनु भयो। बोलाएपछि कसरी ल्यान्डिङ गर्ने पार्टी एकताको लागि। त्यतातिर उहाँहरूले सोच्नु पर्छ।’
विशेष महाधिवेशनमा लागेका नेताहरूले पनि पार्टी फुटाउने घोषणा गरेका छैनन्। महामन्त्री विश्वप्रकाश शर्माले त पार्टी फुट्ने अवस्था आए आफू सबैभन्दा पहिले हलबाट बाहिरिने बताएका छन्।
महामन्त्री शर्माले विशेष महाधिवेशनबाट फर्किँदा कांग्रेस दुईवटा नहुने बताए। कांग्रेसको बन्द सत्रले जे निर्णय लिन्छ त्यही हुने बताएका उनी पनि आवेगमा होइन विवेकले निर्णय लिनेमा विश्वस्त छन्।
आइतबार दुवै महामन्त्रीले हलले (महाधिवेशन प्रतिनिधि) गरेको निर्णय मान्ने बताएका छन्। विशेषमा सहभागी बहुमत प्रतिनिधिको माग नीतिसँगै नेतृत्व पनि परिवर्तन गर्नुपर्छ भन्ने देखिन्छ। उद्घाटन सत्रमा बोल्ने नेताको माग पनि यस्तै छ।
पार्टी प्रवक्ता महत भने फुटको कल्पना नगरेको बताउँछन्।
‘उहाँहरूले के गन्तव्य, के मनसाय राखेर बोलाउनु भएको हो। उहाँहरूले चाहे विशेष महाधिवेशनको अध्यायलाई यहीँ क्लोज गरेर यहाँ उठेका विचारलाई नियमित महाधिवेशनमा लान्छौँ भनेर त्यसलाई ल्यान्डिङ गर्न सक्नुहुन्छ’, महतले भने, ‘अब भोलि उहाँहरू कसरी प्रस्तुत हुनुहुन्छ। त्यसपछि यस विषयमा कसरी अगाडी बढ्ने भनेर केन्द्रीय समितिको बैठक बसेर एउटा निर्णय गर्ला। के निर्णय गर्छ भन्ने कुरा अहिले नै भन्न सकिँदैन।’
देउवा निकट अर्का नेता भने गगनले भावी सभापतिका लागि सुनिश्चितता गर्ने प्रयत्न गरिरहेको बताउँछन्। गगन–विश्वले पार्टी नफुटाउने तर भावी नेतृत्वको रूपमा आफूलाई प्रस्टसँग उभ्याउने उनको बुझाइ छ।
‘आगामी महाधिवेशनका लागि सभापति हुने कुरालाई बल पुग्ने राजनीतिक सुनिश्चितताका लागि सञ्चालन गरेको हुनसक्छ। यस्तो अवस्थामा उहाँहरूले पार्टी विभाजन गर्नु हुन्न। तर अब नेता गगन भयो है भन्ने हिसाबले टुङ्ग्याउनुहुन्छ भन्ने पनि देखिन्छ’, महतले भने, ‘महाधिवेशन प्रतिनिधिले भने पनि गगनले पार्टी जोगाएर त्यसको जस लिन र गगनले नबचाएको भए पार्टी फुट्थ्यो भन्ने सन्देश दिन पनि सक्छन्।’
भृकुटीमण्डपमा देशभरबाट २ हजार ६६२ जना प्रतिनिधिले हस्ताक्षर गरेको आयोजकको दाबी छ। यो दाबी अनुसार बहुमत प्रतिनिधि सहभागी छन्। बहुमत प्रतिनिधि आफ्नो विकल्पमा लाग्दा पनि सभापति देउवा निवासमा जम्मा भएका नेताहरू भने विशेष महाधिवेशनले कुन बाटो लिन्छ भन्नेमा अझै प्रस्ट छैनन्। रनभुल्लमा छन्। जसले यसपछिको कदम के हुन्छ भन्ने निष्कर्षमा पनि पुग्न नसकेको प्रवक्ता महत बताउँछन्।
Shares

प्रतिक्रिया