नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटनसत्रले पार्टीभित्र परिवर्तनको स्पष्ट संकेत गरेको छ।
काठमाडौंस्थित भृकुटीमण्डमा आयोजित विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिताले कांग्रेसको ग्रासरुटमा रहेको विद्रोह विस्फोट देखिन्छ।
देशमा भदौ २३ र २४ मा भएको जेन्जी विद्रोहपछि कांग्रेसको ग्रासरुटबाटै उठेको पार्टीको नीति र नेतृत्व परिवर्तनको आवाज संगठित रूपमा आज भृकुटीमण्डपमा गुन्जिएको हो। गत असोज २९ गते पार्टी कार्यालय सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित दर्ता भएको प्रस्तावलाई नियमित महाधिवेशनको कार्यसूचीले निष्क्रिय बनाउने नेतृत्वको रणनीति खण्डित भएको छ।
पार्टीले विशेष महाधिवेशनमा सहभागी नहुन गरेको निर्देशन र नेताहरूको दबाबलाई प्रवाह नगरी भृकुटीमण्डपमा उर्लिएको कांग्रेसी भेलले लिने निर्णयप्रति आम चासो छ।
सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला लगायतले अपनत्व नलिएको र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनबाट हुने निर्णयमा नेपालको राजनीतिवृत्त ध्यानमग्न छ। किन भने कांग्रेसको विभाजन र एकता विशेष महाधिवेशनको हलको हातमा छ।
नेतृत्व छान्न छैन मतक्यौता, प्रतिनिधि तीन मतमा विभाजित
महाधिवेशनले लिने निर्णयमा उद्घाटन समारोहका वक्ताको धारणामा मतक्यौता नभएजस्तै महाधिवेशन प्रतिनिधि पनि दुई भागमा विभाजित छन्। महामन्त्री थापाले महाधिवेशनको हलले पार्टी विधानअनुसार नीति र नेतृत्व चुन्ने बताए। ‘कांग्रेसको विधानले भन्छन्–महाधिवेशनभन्दा ठुलो केही छैन। महाधिवेशनले नेता पनि छान्छ, नेता बदल्छ पनि,’ उनको उद्घोष थियो।
कांग्रेस केन्द्रीय कार्यसमितिले आयोजना गरेको भए विशेष महाधिवेशनका एजेन्डा पहिले नै स्पष्ट हुने भए पनि प्रतिनिधिले आयोजना गरेको भएले हलभित्रै एजेन्डा तय हुने थापाको भनाइ छ।
‘कहाँ गएर टुङ्गिन्छ, मलाई थाहा छैन। तपाइहरूले माग्नु भएको छ, नीति पनि बदल्ने, नेता पनि बदल्ने। मैले मागेको होइन, तपाइहरूले मागेको हो,’ उनले भने, ‘हाउसले जे निर्णय गर्छ, त्यो मेरा लागि स्वीकार्य छ।’
इतिहासमा सुवर्ण शमशेर राणाले बीपी कोइरालालाई नेतृत्व सुम्पनका लागि विशेष महाधिवेशन आयोजना गरेको थापाले स्मरण गराएका थिए। नेताहरू गुरुराज घिमिरे र केदार कार्कीले पनि महाधिवेशनको हलले नेतृत्व परिवर्तन गर्नुपर्ने जोडदार आवाज उठाएका थिए।
बहुमत महाधिवेशन प्रतिनिधि सहभागी समारोहमा नेता महेश आचार्यले ‘बहुमत प्रतिनिधि जता उभिन्छन्, त्यहीँ हुन्छ पार्टी’ हुने बताएका थिए। ‘पुल एकातिर र खोला अर्कोतिर हुन सक्दैन। पुल बनाएर यही ठाउँमा उभिनुस्,’ सभापति देउवालाई आचार्यको आग्रह थियो।
तर, महामन्त्री शर्माले आधा घण्टा लामो सम्बोधनमा नेतृत्व परिवर्तनको कुरा उठाएको सुनिएन। उनी नागरिकको असन्तोष र त्यसको सम्बोधनका लागि महाधिवेशनमा हुने छलफलका विषयमा मात्र बढी केन्द्रित भए। विशेष महाधिवेशनको अभियानमा सक्रिय नेता मधु आचार्यले पनि नीति महाधिवेशनको मात्र कुरा उठाएका थिए। उद्घाटनसत्रमा सम्बोधन गरेका अधिकांश वक्ताले नेतृत्वको विषयमा प्रवेश नै नगरी अभिव्यक्ति टुङ्ग्याए।
नेतृत्व परिवर्तनको विषयमा मञ्चका नेतामा मतक्यौता नभएजस्तै भृकुटीमण्डपमा भरिभराउ महाधिवेशन प्रतिनिधिमा पनि मतक्यौता पाइएन। नेपालखबरले करिब ४ सय जना महाधिवेशन प्रतिनिधिको राय लिँदा नेतृत्व परिवर्तनको मत विरलै भेटिन्थ्यो। अधिकांश महाधिवेशन प्रतिनिधि आगामी वैशाख २८–३१ का लागि तय गरिएको १५ औँ महाधिवेशनको म्यान्डेटको शंखघोष गरेर विशेष महाधिवेशन सम्पन्न हुने मत राख्छन्।
नेता घिमिरेका अनुसार पार्टीको केन्द्रीय समितिले स्वामित्व लिँदा विशेष महाधिवेशनको कार्यदिशा सहमतिमै तय हुने सम्भावना हुन्छ। उनले भने, ‘विशेष महाधिवेशन बोलाउन भन्यौँ केन्द्रीय समितिले बोलाए । हामी आफैले बोलायौँ । अब पार्टीको केन्द्रीय समितिले स्वामित्व लिँदा सय प्रतिशत हुन्छ। त्यसपछि सहमतिमै एजेण्डा तय गरेर हलबाट निर्णय गर्न सकिन्छ । पार्टीले स्वामित्व लिने छ भन्ने आशा छ,’ उनले नेपालखबरसँग भने।
घिमिरेका अनुसार केन्द्रीय समितिले स्वामित्व नलिँदा हलबाट हुने सम्भावित निर्णय महाधिवेशन माग गर्नुका निर्धारित उद्देश्यले तय गर्छ। ‘त्यसमा नेतृत्व, नीति, संरचनात्मक परिवर्तन, भदौ २३ र २४ को घटना र ३४ वर्षको समीक्षा मुख्य कुरा हुन्,’ उनले भने, ‘यी कुरा हामी बन्दसत्रमा लान्छौँ । महाधिवेशन प्रतिनिधिले सबै बुँदामा निर्णय लिनुपर्छ भन्नुहुन्छ कि नेतृत्व परिवर्तनको कुरालाई रोकौँ। अरू बुँदा मात्रै पास गरौँ भन्नुहुन्छ । त्यसमा भर पर्छ ।’ नेतृत्व परिवर्तनका सन्दर्भमा महाधिवेशन प्रतिनिधिहरूको मिश्रित धारणा रहेको उनको भनाइ छ।
‘एउटा मत हामी नेतृत्व तहमा रहेका नेताहरूले कता डोर्याउँछौँ त्यसमा भर पर्छ । दोस्रो मत – निर्वाचनमा मुखमा छौँ। अरू कुरा मात्र छलफल गरौँ नेतृत्वको कुरालाई नियमित महाधिवेशन कुर्ने कि भन्ने पनि छ,’ उनी भन्छन्, ‘तेस्रो मत छ– जुन उद्देश्यले बोलाइएको छ। त्यही अनुसार नेतृत्व परिवर्तन गरेर जानुपर्छ भन्ने छ।’
महामन्त्री थापा, अर्का महामन्त्री शर्मा र एकताको चिन्तासहितको तीनथरि मत हुलसम्म पुग्ने देखिन्छ । नेता मधु आचार्यले विशेष महाधिवेशन पार्टी एकता र चुनावी तयारीमा गएर टुङ्गिने बताउँछन्।
‘विशेष महाधिवेशनले पार्टी एकता र निर्वाचनको तयारी पुरा भएको सन्देश दिन्छ। यो चुनावको तयारी पनि हो। पुसमा एकताको भाइब्रेसन पनि छ। सभापति र कार्यवाहक सभापतिले यसलाई बुझ्नुहुनेछ। उहाँहरूको सहयोग हुन्छ भनेमा विश्वास व्यक्त गर्दछु,’ उनी भन्छन्।
Shares

प्रतिक्रिया