राजनीति


शेखरले दोहोर्‍याए: कांग्रेसजनको भावनात्मक एकताका लागि प्रयासरत छु

शेखरले दोहोर्‍याए: कांग्रेसजनको भावनात्मक एकताका लागि प्रयासरत छु

नेपालखबर
पुस २७, २०८२ आइतबार १६:२२, विराटनगर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो शक्ति समीकरण र राजनीतिक अन्योलकाबीच एक भिडिओ सन्देश जारी गर्दै आफ्नो मुख्य ध्येय पद प्राप्ति नभई कांग्रेसको समग्र एकता र विधि विधानको रक्षा भएको स्पष्ट पारेका छन्।

पछिल्लो समय पार्टीको आन्तरिक राजनीतिमा एक्लिँदै गएको चर्चा चलिरहेका बेला डा. कोइरालाले आफूलाई मन्त्री, महामन्त्री, सभापति वा प्रधानमन्त्री बन्ने कुनै महत्वाकांक्षा र लोभ नरहेको प्रष्टीकरण दिए।

​देश ‘जेनजी’ आन्दोलनपछिको अस्थिरता, अनिर्वाचित सरकारको गठन र संविधानमाथि देखिएको संकटबाट गुज्रिरहेको उल्लेख गर्दै उनले यस्तो संवेदनशील समयमा आफूले पार्टीलाई सन्तुलनमा राख्न खोजेको बताए।

बीपी कोइरालाको मेलमिलापको नीति र आदर्शबाट अभिप्रेरित भएर आफू अगाडि बढेको भन्दै उनले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली र अर्कोतिर ऊर्जावान युवाहरूको तीव्र असन्तुष्टिको बीचमा बसेर आफूले समन्वयको प्रयास गरिरहेको उल्लेख गरे।

पार्टीभित्र पुस्तान्तरणको अभियान आफैँले सुरु गरेको र युवाहरूलाई केन्द्रीय कार्यसमितिमा ल्याउन भूमिका खेलेको स्मरण गराउँदै कतिपय साथीहरू आफ्नो शान्त शैलीसँग असहमत भए पनि आफू आक्रोश र अधैर्यको राजनीति गर्न तयार नरहेको प्रस्ट पारेका छन्।

​डा कोइरालाले भाद्र २४ देखि २७ गतेसम्मको अराजक अवस्था र सेना परिचालन गर्नुपर्ने बाध्यतालाई लोकतन्त्रको लागि डरलाग्दो संकेत भन्दै संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस एक ढिक्का हुनुको विकल्प नरहेको जिकिर गरे।

उनले पार्टी विभाजनको कुनै पनि प्राविधिक वा भावनात्मक सन्देश नजाओस् भन्नेमा आफू सधैँ सतर्क रहेको र अपमान सहेरै भए पनि कांग्रेसजनको भावनात्मक एकताका लागि अन्तिमसम्म लडिरहने दृढता व्यक्त गरे।  

विशेष महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर विधिको शासन र नीतिको सान्दर्भिकता स्थापित गर्न आग्रह गरेका छन्। आफू एक्लो भए पनि अग्रज नेताहरूले देखाएको पदचिह्नबाट विचलित नहुने र एकताबद्ध कांग्रेस निर्माणका लागि निरन्तर ‘भगीरथ प्रयास’ जारी राख्ने उनले प्रण गरे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad