राजनीति


सचिवालयमा एकताको खाका माग्ने माधव नेपालको तयारी, नआए स्थायी समितिमा विवाद

सचिवालयमा एकताको खाका माग्ने माधव नेपालको तयारी, नआए स्थायी समितिमा विवाद

मणि दाहाल
बैशाख २३, २०७७ मंगलबार १६:८,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार बस्ने सचिवालय बैठकमा एकतासम्बन्धी स्पष्ट खाका नआए स्थायी समितिमा विवाद झनै चर्किने देखिएको छ।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको बैठकमा अध्यक्षद्वयले भन्दै आएको एकताको प्रस्ताव माग गर्ने भएका छन्।

विवाद चर्किंदै जाँदा गत शनिबार भएको सचिवालय बैठकले एक भएर अघि बढ्ने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भएका कमीकमजोरीका लागि आत्मालोचना गरेका थिए।

सचिवालय बैठकमा नेतृत्वको तर्फबाट आउने प्रस्तावले स्थायी समितिको बैठक कसरी प्रस्तुत हुने भन्ने निर्धारण गर्ने नेपालनिकट एक नेताले बताए।

‘अध्यक्षद्वयले मिलेर जाने भन्नु भएको छ। मिलेर जाने प्रस्ताव कस्तो छ, बुधबारको सचिवालयको बैठकमा त्यो माग गरिनेछ,’ ती नेताले भने, ‘बुधबारको बैठकमा आउने प्रस्तावहरुले बिहीबारको बैठकमा कसरी प्रस्तुत हुने भन्ने निर्धारण हुन्छ।’

सचिवालको बैठकमा नेता नेपालले ओली र प्रचण्डलाई सीधै यससम्बन्धी प्रश्न गर्ने तयारी गरेको ती नेताले बताए।

‘एकता र मिलेर जाने भनेको के हो? त्यसमा को को अट्ने हो? त्यसको स्पष्ट खाका के हो? भनेर उहाँले अध्यक्षद्वयलाई सोध्नु हुन्छ,’ उनले भने।

वैशाख ८ गतेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेसँग प्रधानमन्त्री ओलीविरुद्ध अध्यक्ष दाहाल र नेता नेपाल आक्रामक भएका थिए। ओलीबाट पार्टी र सरकार दुवै सञ्चालन हुन नसक्ने निश्कर्ष निकाल्दै उनीहरुले राजीनामा माग गरेका थिए। तर, शनिबार ओली र प्रचण्डबीच सचिवालयको बैठकअघि भएको भेटमा अचानक मिलेर जाने सहमति भएको थियो।

सोही सचिवालय बैठकमै नेता नेपालले दुई अध्यक्ष मिलेर मात्रै समस्या समाधान नहुने बताएका थिए।

बैठकअघि ओली र प्रचण्डले कुनै गुप्त सम्झौता गरेको हुनसक्ने आशंका नेपालनिकटहरुले गर्दै आएका छन्।

तर, अध्यक्ष प्रचण्डले मिलेर जाने सहमति मात्र भएको बताएका छन्।

बैठकमा नेपालले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउने विषयमा पनि धारणा माग गर्ने भएका छन्। बिहीबारदेखि सुरु हुने स्थायी समितिको बैठकमा प्रस्तुत गरिने प्रतिवेदन तयार पार्ने जिम्मेवारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको छ।

प्रतिवेदनसहितको विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मंगलबार बिहान बालुवाटारमा छलफल भएको थियो।

बुधबारको सचिवालय बैठकले स्थायी समितिको बैठकमा एजेन्डा तय गर्ने छ। जसका लागि प्रचण्डले ओलीसँग दुई पटक भेट गरेका छन्। त्यसैगरी प्रचण्डले नेता नेपालसहित अन्य नेताहरुसँग समेत यस विषयमा निरन्तरमा छलफल गरेका छन्। सोमबार पनि प्रचण्ड, पूर्व प्रधामन्त्री झलनाथ खनाल, नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच हात्तीवनस्थित श्रेष्ठ निवासमा छलफल भएको थियो।

सो भेलामा दाहालले सबै निर्णयहरुमा सहमति जुटाउन आफूले कोसिस गर्ने बताएका थिए। त्यहाँ पनि उनले प्रधानमन्त्री ओलीसँग कुनै प्रकारको गोप्य सहमति नभएको भनेर नेताहरुलाई आश्वस्त पारेको थिए।

‘तर अहिले पनि दुवै अध्यक्षले भनेको कुरा व्यवहारमा कसरी कार्यान्वयन हुन्छ भन्ने विषय नै प्रमुख हो,’ नेपालनिकट ती नेता भन्छन्, ‘सचिवालयको बैठकमा यो कुरा स्पष्ट नभए स्थायी समितिमा जोडदार रुपमा राख्छौँ।’

स्थायी समिति २० सदस्यले बैठकको माग गरेका थिए। उनीहरुले सरकार तथा पार्टी सञ्चालनको विषयमा प्रश्न उठाउने तयारी गरेका छन्। औषधि खरिदमा भएको अनियमिततादेखि अध्यादेश हुँदै सरकारले गरेको नियुक्तिको समेत विषयमा सरकारमाथि उनीहरुले प्रश्न गर्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .