राजनीति


स्थायी समितिको मुख्य मुद्दा ‘एक व्यक्ति एक जिम्मेवारी’, खनाल भन्छन्- प्रधानमन्त्री तनावमा देखें

स्थायी समितिको मुख्य मुद्दा ‘एक व्यक्ति एक जिम्मेवारी’, खनाल भन्छन्- प्रधानमन्त्री तनावमा देखें

सागर न्यौपाने
बैशाख २३, २०७७ मंगलबार १५:३,

सत्तारुढ नेकपाको बिहीबार बस्ने स्थायी समिति बैठकमा ‘एक व्यक्ति एक पद’ को विषय प्रमुख एजेन्डा बन्ने भएको छ। स्थायी समितिका नेताहरुले सामूहिक रुपमै सो प्रस्ताव अघि सार्ने भएका छन्।

पुरक प्रस्तावको तयारी गरिरहेका स्थायी समितिका २० नेताले यो प्रस्ताव कार्यान्वयनका लागि दबाब दिने तयारी गरेका हुन्। 

‘एक व्यक्ति एक जिम्मेवारी कार्यान्वयनको एजेण्डा पार्टीले अघि सारिरहेको छ,’ सचिवालयका एक नेताले नेपालखबरसँग भने, ‘पार्टीका धेरै साथीहरुले एक व्यक्ति एक जिम्मेवारीको सिस्टम बसाल्नुपर्छ भन्ने प्रस्ताव बैठकमा ल्याउँदै हुनुहुन्छ।’

यो व्यवस्था लागू भए दोहोरो पदमा रहेका नेताहरुले एक पद छाड्नुपर्ने हुन्छ। हाल प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसहित सचिवालय, स्थायी समिति गरी डेढ दर्जनभन्दा बढी नेता दोहोरो जिम्मेवारीमा छन्।

शनिबार बसेको सचिवालय बैठकमा ‘एक व्यक्ति एक जिम्मेवारी’ को नीति लागू गर्ने सहमति भएको नेताहरुले बताएका छन्। स्थायी समितिको बैठकको एजेन्डा भने बुधबार बस्ने सचिवालय बैठकले तय गर्नेछ।

वरिष्ठ नेता माधवकुमार नेपालले एक व्यक्ति एक जिम्मेवारीको विषय पटकपटक उठाउँदै आएका छन्। यसपटक पनि उनीनिकट नेताहरु नै यसमा बढी सक्रिय देखिएका छन्।

आगामी बैठकमा उक्त मागलाई व्यवहारमै कार्यान्वयन गराउनेगरी उठाउन लागेको स्थायी समिति सदस्य रघुजी पन्तले बताए।

‘स्थायी समिति बैठकको माग हामी २० जना नेताहरुले गरेका हौं। बैठकमा नेताहरुको जिम्मेवारीको कुरासहित अन्य साझा धारणा प्रस्तुत हुन्छ,’ पन्तले भने, ‘पार्टीमा मुख्यगरी दोहोरो जिम्मेवारीको समस्या पनि देखिएको छ। त्यसबाहेक विधि र विधानलाई टेकेर पार्टी सञ्चालन हुनुपर्ने विषयलाई पनि गम्भीरतापूर्वक उठाउनेछौं।’

अबको बैठक परिणाममुखी हुने विश्वास पनि पन्तले व्यक्त गरे।

‘प्रधानमन्त्रीको राजीनामाको प्रसङ्ग किन आयो? कसरी हरायो? अध्यादेश किन ल्याइयो? सरकारले कसको प्रभावमा विवादास्पद निर्णय गरिरहेको छ? विधि र विधान उल्लंघन गर्न उहाँहरुलाई के ले प्रेरित गरिरहेछ?’ उनले भने, ‘यी लगायतका विषयमा व्यापक छलफल गरेर एउटा निश्कर्षमा पुग्नुपर्ने छ।’

एक व्यक्ति एक जिम्मेवारी कार्यान्वयन गर्न नेताहरुले प्रचण्डलाई पनि दबाब दिएका छन्। स्थायी समितिको बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लेखनमा रहेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक पटक भेट पनि गरिरहेका छन्। सोमबार र मंगलबार बालुवाटार पुगेर उनले ओलीलाई भेटेका थिए।

‘स्थायी समितिमा पेस गर्ने राजनीतिक प्रतिवेदनमा के–के विषय समेट्ने भनेर छलफल गर्न प्रचण्डले प्रधानमन्त्रीसँग दुईपटक छलफल गर्नुभयो,’ प्रचण्डनिकट एक नेताले भने, ‘उहाँले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग पनि सुझाव लिनुभएको छ।’

नेताहरु दिनभर छलफलमा
नेकपाका शीर्ष नेताहरु मंगलबार दिनभर भेटघाटमा व्यस्त रहे। बिहान प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेर भेट गरेका अध्यक्ष प्रचण्ड दिनभर स्थायी समितिका सदस्यहरुसँग छलफलमा थिए। उनले नेपाल निकट र आफू निकटका एक दर्जन बढी नेताहरुसँग छलफल गरे।

प्रधानमन्त्रीसँग भेट गरेपछि प्रचण्डलाई भेट्न खुमलटार पुगेका नेताहरुलाई उनले ‘स्थायी समितिको बैठकबाट ऐतिहासिक निर्णय गरिने र त्यसले पार्टी एकतालाई थप मजबुत बनाउने’ विश्वास दिलाएका सहभागी एक नेताले बताए।

उता वरिष्ठ नेता झलनाथ खनालले पनि दिउँसो प्रधानमन्त्री ओलीसँग भेट गरे। १ बजेदेखि २ घण्टा भएको भेटमा पार्टी देखिएको पछिल्लो अवस्थाका बारेमा कुरा भएपनि स्थायी समिति बैठकको बारेमा कुरा नभएको उनले बताए।

‘प्रधानमन्त्रीलाई दुई घण्टाजति भेटेँ, स्थायी समितिको बैठकमा फोकस भएनौं,’ नेता खनालले भने।

सचिवालय बैठकको सहमतिबाट प्रधानमन्त्री पछि हटेको चर्चा चलिरहेका बेला ओली र खनालबीच भेट भएको हो।

भेटपछि खनालले प्रधानमन्त्री ओली ठूलो तनावमा रहेको बताए।

‘प्रधानमन्त्री ओली तनावमा रहेको पाएँ। भन्न त केही भन्नु भएन तर उहाँको अनुहारमा गम्भीर चिन्ता र तनाव देखिन्थ्यो,’ खनालले भने, ‘यस्तो तनावमा उहाँलाई पहिलो पटक देखेँ।’

आफूलाई प्रधानमन्त्रीले बालुवाटार डाकेको उनले बताए। प्रधानमन्त्रीलाई सहमति पालना गरेर जान र एकतालाई अझै अघि बढाउन सुझाव दिएको उनले बताए। 

‘२० गतेको सचिवालय बैठकको सहमति वान स्टेप फरवार्ड हो, त्यसलाई अझै अघि बढाएर पार्टीलाई एकताबद्ध र अग्रगतितर्फ लानैपर्छ,’ खनालले प्रधानमन्त्रीसँग मंगलबार कुराकानी हुँदा आफुले दिएको सुझाव स्मरण गर्दै भने, ‘पार्टीलाई सामूहिक रुपमा अघि बढाउन पार्टीले गर्ने निर्णयलाई सम्मान गर्नुपर्छ।पार्टीका निर्णयलाई सर्वोपरी राखेर मिलेर अघि बढ्नुपर्छ भन्ने सुझाव दिएँ।’

दिनभर वरिष्ठ नेता माधवकुमार नेपालपनि स्थायी समितिका नेताहरुसँग छलफलमा व्यस्त थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad