राजनीति


१२ दिनमै टुट्यो रास्वपासँग कुलमानको सहकार्य

१२ दिनमै टुट्यो रास्वपासँग कुलमानको सहकार्य

नेपालखबर
पुस २६, २०८२ शनिबार १५:५, काठमाडौँ

उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सहकार्यको सम्भावना अन्त्य भएको छ। उज्यालो नेपाल पार्टीले संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतान्त्रिक संरचनाको विषयमा रास्वपा थप प्रस्ट हुनु पर्ने अडान लिएपछि दुई सतापछि नै यी दुई पार्टीबीचको एकता टुटेको हो।

रास्वपा र उज्यालो नेपालबीच पद बाँडफाँटमा पनि विवाद सिर्जना भएको छ। रास्वपाको पदाधिकारी टिममा सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा रहने गरी कुलमान घिसिङलाई वरिष्ठ उपसभापति दिने सहमति भएको थियो। तर पछि बालेन्द्र शाहलाई वरिष्ठ नेताका रुपमा दोस्रो वरीयता दिएर घिसिङलाई तेस्रो स्थान दिइएको थियो। जसमा उज्यालो नेपालले असहमति जनाएको छ। 

उज्यालोले वरिष्ठ उपसभापति बाहेक थप ३ वटा पद दिनुपर्ने माग पछिल्लो समय राखेको थियो। जसमा उज्यालोका तर्फबाट एक महामन्त्री थप्नु पर्ने प्रस्ताव पनि छ। रास्वपामा हाल पहिले र पछि बालेनको तर्फबाट थपिएका गरी दुई जना महामन्त्री छन्। उज्यालो पक्षलाई थप एक जना सहमहामन्त्री दिने सहमति भएको थियो।

त्यस्तै २१ फागनुमा हुने निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीको लागि सिट तोकेरै बाँडफाँट गरेर जानुपर्ने उज्यालोको मागमा रास्वपाले विमति जनाएको छ।

निर्वाचनपछि रास्वपाको सरकार बन्ने अवस्थामा राज्यका विभिन्न अवसरहरूमा पनि अहिले नै भागबण्डाको समझदारी गरेर अगाडि बढ्नुपर्ने धारणा उज्यालो पक्षको रहेको छ।

कुलमान पक्षको मागमा रविले ‘यो देश बदल्ने अभियान हो, एउटा निर्वाचन र त्यसको उपलब्धिमै सबै छलफल सिमित नगरौँ’ भन्दै आफ्नो अडान दोहोर्‍याएको एक नेताले बताए। त्यसपछि रास्वपा र उज्यालो पार्टीबीच पुस १४ गते भएको ७ बुँदे एकता सहमति तोडिने अवस्थामा पुगेको हो। 

‘अब रास्वपा र उज्यालो पार्टीबीचको सहकार्य टुंगिएको औपचारिक घोषणा हुन मात्र बाँकी छ,’ उज्यालो पार्टीका एक नेताले भने।

उज्यालोसँगको एकता टुट्ने भएपछि आकस्मिक रुपमा शनिबार दिउँसो रास्वपाको सचिवालय बैठक बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad