राजनीति


मन्त्रीबाट राजीनामा लगत्तै रास्वपाबाट बाहिरिएको घोषणा गर्न चाहन्थे कुलमान

रविसँग एक पटक कुरा गर्नुस् भन्दै उनेपाका नेताले रोके
मन्त्रीबाट राजीनामा लगत्तै रास्वपाबाट बाहिरिएको घोषणा गर्न चाहन्थे कुलमान

सागर न्यौपाने
पुस २४, २०८२ बिहिबार २१:५७, काठमाडौँ

ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले बुधबार राजीनामा दिए। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेर उपसभापति बन्ने सहमति गरेका उनलाई सोही कारण राजीनामा गर्न दबाब थियो। राजीनामा दिनैपर्ने बाध्यता आएपछि उनले आफ्नै अगुवाइमा खुलेको उज्यालो नेपाल पार्टीका नेताहरूसँग बुधबार दिनभर छलफल गरे। 

‘उज्यालो पार्टीकै नेताहरूसँग छलफल गर्नुभयो, कसरी जाँदा हुन्छ भनेर सोध्नुभयो,’ छलफलमा सहभागी एक नेताले नेपालखबरसँग भने।  

त्यसपछि घिसिङले मन्त्रीबाट राजीनामा दिन लागेको निर्णय सुनाए। प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्ने र त्यहीँबाट रास्वपासँग गरेको एकता भंग भएको घोषणा गर्ने बताए। उनको निष्कर्ष थियो– रास्वपासँग मिल्न गएर गल्ती गरिएछ।

‘उहाँ हिजै रास्वपासँगको एकता प्रक्रिया टुटेको घोषणा गर्ने पक्षमा हुनुहुन्थ्यो,’ राजीनामा गर्नुअघि भएको छलफलमा सहभागी ती नेताले नेपालखबरसँग भने, ‘रास्वपामा जानुभन्दा नजाँदा राम्रो हुन्छ भन्ने उहाँको धारणा छ। आफ्नै हिसाबले जानुपर्ला, हतारले सहमति गरिएछ। ठूलो गल्ती भयो, अब त्यसलाई सुधारेर जानुपर्छ भनेर उहाँले भन्नुभयो।’ 

रास्वपासँगको एकतापछि भइरहेका गतिविधिले कुलमान रुष्ट भएको ती नेताको भनाइ छ। 

कुलमानले उज्यालो नेपाललाई फेरि अगाडि बढाएर चुनावमा जान सकिने बताए। 

‘समानुपातिक जे भयो भइहाल्यो, अब कि प्रत्यक्ष मात्रै छुट्टै उठेर जान पनि सकिन्छ,’ बैठकमा कुलमानले भनेका थिए, ‘निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएको दलमध्ये कुनैसँग मर्ज गरेर जान पनि सकिने रहेछ, किनभने २७ गतेसम्म सूची सच्याउन सकिन्छ।’

तर, उनेपाका नेताहरूले कुलमानलाई बुधबार राति रास्वपाबाट अगल भएको घोषणा गर्नबाट रोके। 

‘मिडियामा र बाहिर सामाजिक सञ्जालमा आएका कुरालाई मात्र आधार मानेर राजीनामा दिन उचित हुन्न भनेर केही साथीहरूले आग्रह गर्नुभयो। तर, उहाँ रोकिन चाहनु भएन,’ ती नेताले भने, ‘रास्वपाबारे पनि सभापति रवि लगायत नेतासँग एकपटक कुरा गर्नुस् भनेर सुझाव दियौँ, हामीले त फेरि ब्याक हुन पनि गाह्रै छ भनेर भन्यौँ।’ 

रास्वपाले पछिल्ला दिन गरेको केही व्यवहारले कुलमानको मन दुखाएकोले उनी पार नलाग्ने भन्दै वार्ता नगर्ने पक्षमा देखिएको ती नेताले बताए।  

‘समानुपातिक उम्मेदवारमा गरिएको हल्लाखल्ला, पदाधिकारी र केन्द्रीय समितिमा गरिएको अन्यायपूर्ण भागबण्डाले उहाँको चित्त दुखाएको देखिन्छ,’ उनले थपे, ‘मिलेर जान सकिँदैन भन्ने उहाँलाई लागिसकेको छ, हामीले रोकिरहेका छौँ। तर, अझै पनि उहाँ रास्वपासँग मिल्न सकिनेमा आशावादी हुनुहुन्न।’

उनेपाका नेताहरूले तयारी नपुगेकोले रास्वपासँगको एकता टुटेको घोषणा तत्काल गर्न नहुने अडान लिए। 

‘हाम्रो तयारी पनि पुगेको छैन भनेर रोक्यौँ,’ उनले भने, ‘फेरि मिलाएर जान सकिन्छ भने गरिसकेको एकता किन टुटाउने भन्ने पनि छ।’  

त्यसपछि मन्त्रीबाट मात्रै राजीनामा दिएका कुलमानले पत्रकार सम्मेलनमा रास्वपासँगको एकता कार्यान्वयनमा आइनसकेको बताए। 

‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त समझदारी हालसम्म कार्यान्वयनमा आएको छैन,’ पत्रकार सम्मेलनमा कुलमानले भने, ‘मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन।’ 

उनेपाका नेताहरूको आग्रह अनुसार रवि लामिछानेसँग फेरि निर्णायक छलफल गर्न कुलमान राजी भएका छन्।

तर, रास्वपासँग एकताबारे उनी अझै विश्वस्त हुन नसकेको उनेपाका नेता जीतराम वाइबा बताउँछन्। 

‘संख्या पनि कहिले के भनेको छ, कहिले के। छलफल गर्‍यो हुन्छ भन्छन्। तर, कार्यान्वयन गर्दैनन्,’ वाइबाले भने, ‘बालेन र रवि लामिछाने मिलेपछि भइहाल्छ भन्ने पनि परेको हो कि, नत्र त उस्तै व्यवहार हुनुपर्ने, भएन भन्ने छ।’ 

कुलमानले मन्त्रीबाट राजीनामा दिएपछि पार्टी हाँक्न सहज महसुस गरेको छलफलमा सहभागी अर्का नेता बताउँछन्।

‘उज्यालो नेपाल पार्टीलाई फेरि आफ्नै नेतृत्वमा लिएर अगाडि बढाउनु पर्छ भन्ने कुलमानलाई लागिरहेको छ,’ छलफलमा सहभागी अर्का नेताले भने। 

पुस १४ गते कुलमानले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई साक्षी राखेर रास्वपा सभापति रवि लामिछानेसँग ७ बुँदे एकता सहमति गरेका थिए।

समानुपातिक बन्द सूचीको नामलाई अन्तिम रुप दिन उज्यालो नेपाल पार्टीका नेताहरूसँग छलफल गरिरहेका बेला चिया पिउन भनेर निस्किएका उनले रवि–बालेनसँग भेटेर एकता सम्झौतामा हस्ताक्षर गरेपछि उनेपाका नेताहरू असन्तुष्ट भएका थिए।

तर, देशको आवश्यकताले मिल्नुपरेको जवाफ दिएर नेतालाई सम्झाएका कुलमान अहिले आफैँ खुसी हुन सकिरहेका छैनन्। यही सुइँको पाएर रास्वपाका सभापति रवि लामिछानेले चितवन पुगेर बिहीबार ‘कुलमानसँगको एकता अब कार्यान्वयन प्रक्रियामा जाने’ बताएका छन्।

‘सरकारमै रहनुभएको समयमा हामीले उहाँसँग सहमति गरेका थियौंँ। उहाँ राजीनामा दिएर आउनुभएको छ, अब सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम अघि बढाउँछ,’ रविले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad