नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गरिरहेको पक्षले पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका पदाधिकारीहरूलाई कार्यक्रमको औपचारिक निमन्त्रणा पठाउने भएको छ।
विशेष महाधिवेशन व्यवस्थापन समितिका संयोजक मनोजमणि आचार्यका अनुसार सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका केन्द्रीय नेताहरूलाई हस्ताक्षरसहितको निमन्त्रणा पत्र पठाउने तयारी गरिएको हो।
‘मेरो हस्ताक्षरमा पार्टी सभापति, कार्यवाहक सभापति र पदाधिकारीलगायत केन्द्रीय नेताहरूलाई निमन्त्रणा पठाउने निर्णय भएको हो। भोलिसम्म पार्टीले विशेष महाधिवेशनलाई अपनत्व लिएर आयोजना गरोस् भनेर पर्खिन्छौँ, उहाँहरूले त्यसो नगरे हामी आफैँ आयोजक बनेर पार्टी सभापतिलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्छौं’, विशेष महाधिवेशन व्यवस्थापन समिति संयोजक आचार्यले नेपालखबरसँग भने।
पुस २७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म हुने उद्घाटन सत्रका लागि चार ठाउँबाट जुलुस निकाल्ने तयारी गरिएको छ। कुपण्डोल, सुन्धारा, रत्नपार्क र बागबजारबाट जुलुस निकालेर महाधिवेशन स्थल भृकुटीमण्डप पुग्नेछ।
Shares

प्रतिक्रिया