आउँदो प्रतिनिधि सभाको निर्वाचनमा पनि जिल्ला बाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले निश्चित समूहका लागि मात्रै अस्थायी मतदाता नामावली संकलन गरेकाले सबै मतदाताले अन्तरजिल्ला मतदान गर्न नपाउने भएका हुन्।
शुक्रबार आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनको तयारीबारे जानकारी दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको तयारी द्रुतगतिमा भइरहेको बताए।
प्रवक्ता भट्टराईले यस पटक अन्तरजिल्ला मतदानको व्यवस्था नभएको जानकारी दिए। ‘कानुनी र प्राविधिक पूर्वतयारी गर्नुपर्ने भएकाले यो पटक त्यो काम गर्न सकेनौँ’, भट्टराईले भने।
विदेशमा रहेका नागरिकलाई पनि मतदानको व्यवस्था गर्नुपर्ने माग उठेको थियो। तर, आयोगले भने जिल्लाबाहिरबाट समेत मतदान गर्न पाउने व्यवस्था गर्न सकेन।
आयोगले अस्थायी मतदाता नामावली संकलन गरेको छ। यसअघि जस्तै यस पटक पनि निर्वाचनमा खटिने प्रहरी, कर्मचारी, कारागारमा रहेका कैदीबन्दी, वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक मात्रै यो पटकको अस्थायी मतदाता सूचीमा समावेश भएको उनले बताए। त्यसैले उनीहरूबाहेक अन्य नागरिकले जिल्लाबाहिरबाट मतदान गर्न पाउनेछैनन्।
निर्वाचनको सुरक्षाबारे सोधिएको प्रश्नमा प्रवक्ता भट्टराईले डराउनुपर्ने अवस्था नरहेको बताए। जिल्ला तहमै एकीकृत सुरक्षा योजना बनाएर काम भइरहेको बताउँदै उनले भने, ‘सुरक्षाकै कारणले निर्वाचनमा डराउनुपर्ने, मतदान गर्न जान डराउनुपर्ने अवस्था छैन।’
त्यस्तै, निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्ने विषयमा सोधिएको प्रश्नमा प्रवक्ता भट्टराईले प्रयास भइरहेको बताए। ‘हामीले मेटा र टिकटकसँग सम्पर्क ग¥यौं। दुवै कम्पनीले सकारात्मक जवाफ दिएका छन्। आयोग उनीहरूसँग सम्पर्कमा छ’, उनले भने।
उम्मेदवार फिर्ताको विषयमा पनि अहिलेसम्म जानकारीमा नरहेको उनले बताए। उम्मेदवारी फिर्ता लिने समय पुस २८ गते तोकिएको छ। अहिले सामाजिक सञ्जालबाट फिर्ताको घोषणा भए पनि आधिकारिक रुपमा पुस २८ गते निवेदन दिनुपर्ने उनले बताए।
Shares

प्रतिक्रिया