नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधि सभाको निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा नभएर वर्ग संघर्षको लडाई भएको बताएका छन्।
शुक्रबार एमाले केन्द्रीय कार्यालयमा जनसंगठन समन्वय संयन्त्रको बैठकमा बोल्दै महासचिव पोखरेलले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए। एमाले नीति, विचार उपलब्धिलाई जनतामाझ प्रकावकारी ढंगले पु¥याउन निर्देशन दिँदै पोखरेलले भने, ‘यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई वर्ग संघर्षको लडाई हो।’
केन्द्रबाट तय गरिएका योजनाहरू स्थानीय तहसम्म कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। निर्वाचन केन्द्रित बैठक, अभियान र संवादलाई तीव्र बनाउन आग्रह गरे।
जनसंगठनहरू निर्वाचन अभियानको अग्रपंक्तिमा उभिनुपर्ने आवश्यकता रहेको पोखरेलले बताए। बैठकमा महासचिव पोखरेलले सामाजिक सञ्जालको प्रभावकारी परिचालनमार्फत पार्टीको पक्षमा जनमत निर्माण गर्न निर्देशन दिए।
बैठकमा जेनजी आन्दोलनमा भएका घटनाको चर्चा गर्दै ती घटना योजनबद्ध भएको जिकिर गरे। ‘ती घटनामा आन्दोलनका स्टेकहोल्डर टीओबी, फ्री तिब्बत मुभमेन्ट तथा बारबरा फाउन्डेसनसम्मको संलग्नताका कुरा बाहिर आएका छन्। ती घटना आकस्मिक वा क्षणिक नभई लामो तयारीका साथ घटाइएको थियो, यो कुरा जनतालाई बुझाउन जरूरी छ’, पोखरेलले भने।
त्यस्तै, बैठकमा एमाले सचिव एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनसंगठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी रूपमा परिचालन गर्न निर्देशन दिए।
Shares

प्रतिक्रिया