राजनीति


आगामी प्रतिनिधि सभा निर्वाचन एक्लै लड्छौँ : अग्नि सापकोटा

आगामी प्रतिनिधि सभा निर्वाचन एक्लै लड्छौँ : अग्नि सापकोटा

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १२:३८, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आगामी प्रतिनिधि सभाको निर्वाचनमा एक्लै लड्ने बताएका छन्। 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कांग्रेस र एमालेसँग सहकार्य गर्न खोजेको भए पनि प्रतिनिधि सभा निर्वाचनमा नेकपा एक्लै लड्ने उनको भनाइ थियो। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता सापकोटाले राजनीतिक दलहरूबीच सहकार्य हुनु स्वाभाविक भए पनि आम नागरिकले सकारात्मक रुपमा नलिएको बताए। 

‘राष्ट्रिय सभा सदस्यमा कांग्रेस र एमालेसँग मिल्ने कुरा हाम्रो पार्टी पंक्ति र आम जनताले पनि त्यति मन पराइरहेका छैनन्। मिल्ने विषय बाहिर आउँदा पनि आलोचना र टिप्पणीहरू आइरहेका थिए। तर पनि राजनीतिक पार्टीहरूसँग हुने सहकार्यको विषय स्वाभाविक पनि हुन्छ। फेरि यो राष्ट्रिय सभाको निर्वाचन भनेको आम निर्वाचनजस्तो होइन,’ सापकोटाले भने। 

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा कुनै पनि दलसँग सहकार्य नगर्ने उनको भनाइ थियो। राष्ट्रिय सभा निर्वाचन आम निर्वाचनजस्तो नभएको कारण एउटा समझदारी गर्ने भनिए पनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा स्वतन्त्र ढंगले जनतामाझ जाने उनले बताए। 

पार्टीलाई एक्लै चुनाव लड्न आम जनताबाट समेत सुझाव आएको उनले बताए। ‘हामी अगामी आम निर्वाचन पनि एक्लै लड्छौँ, एक्लै लड्न जनताको पनि सुझाव छ’, सापकोटाले भने। 

विगतमा अन्य राजनीतिक दलसँग गठबन्धन गर्न आफूहरूको पहिचान स्थापित हुन नसकेको उनको स्वीकारोक्ति छ। मुलुकको सबैभन्दा अग्रगामी र जेनजी पुस्ताले उठाएका एजेन्डाहरू समेत नेकपाले उठाउँदै आएको उनले बताए। 

भर्खरै एकतामा गएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र रास्वपामा विचार र दृष्टिकोणको खडेरी रहेको टिप्पणी गरे। राजनीतिक दलमा विचार र दृष्टिकोणको रिक्तता भएकै कारण मुलुक संकटको अवस्थामा पुगेको उनको भनाइ थियो। 

नेपाली कांग्रेसमा देखिएको विवादबारे सोधिएको प्रश्नमा नेता सापकोटाले भने, ‘कांग्रेसको आन्तरिक कुरा हो अब त्यो करी जान्छ उनीहरूमै भर पर्ने कुरा पनि भयो। तर पार्टी फुट्नुभन्दा एकताबद्ध हुनु नै राम्रो हो। चाहे जुनसुकै पार्टी भए पनि फुट र विभाजन हुनुभन्दा एकतावद्ध हुनु नै राम्रो हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad