काठमाडौँमा बसमा सवार यात्रुको पौने ३ लाख रुपैयाँ चोरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, बुधबार काठमाडौँको सिनामंगलबाट मित्रपार्कसम्म जाने क्रममा बागलुङको बागलुङ नगरपालिका-४ का दिपेन्द्र शर्माको झोलाबाट २ लाख ७५ हजार रुपैयाँ चोरी भएको थियो। मयुर यातायातको बसमा यात्रा गरिरहेका वेला पैसा चोरिएको भन्दै शर्माले प्रहरी वृत्त, गौशालामा उजुरी दिएका थिए।
त्यसपछि प्रहरीले सीसीटीभी हेरेर खोजतलास सुरु गरेको थियो। घटनामा शंकास्पद देखिएका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका-२ का ३७ वर्षीय सरोज खड्का, काभ्रेको महाभारत गाउँपलिका-७ घर भई काठमाडौँको काडाघारीमा बस्दै आएका ४२ वर्षीय विकास लामा, तनहुँको म्याग्दी गाउँपालिका-५ घर भई हाल काठमाडौँको टोखामा बस्दै आएका ३३ वर्षीय राजु गुरुङ र ललितपुर महानगरपालिका-७ का ३३ वर्षीय सुवास मगर रहेका छन्।
उनीहरूलाई प्रहरी वृत्त, गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया