राजनीति


विशेष महाधिवेशनले कांग्रेस फुट्दैन? विश्वप्रकाशले दिए ५ प्रश्नका उत्तर (भिडिओ)

विशेष महाधिवेशनले कांग्रेस फुट्दैन? विश्वप्रकाशले दिए ५ प्रश्नका उत्तर (भिडिओ)

नेपालखबर
पुस २४, २०८२ बिहिबार ८:३६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते पार्टीको विशेष महाधिवेशन भएरै छाड्ने र त्यसले कुनै हालतमा पार्टी नफुट्ने जिकिर गरेका छन्। 

बिहीबार बिहान भिडिओ सन्देशमार्फत विशेष महाधिवेशनबारे पाँच जिज्ञासका उत्तर दिँदै महामन्त्री शर्माले पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिले आफू हलबाट बाहिरिने वाचा पनि गरेका छन्। 

‘मैले स्पष्ट गर्दै आएको छु र अहिले पनि गर्न चाहन्छु- विशेष महाधिवेशन हुन्छ। तर पार्टी विभाजन हुँदैन’, उनले भनेका छन्, ‘यदि त्यस्तो हुन लागेमा सबभन्दा पहिले विश्वप्रकाश निक्लिनेछ। त्यसपछि सबै सँगै निक्लिउँला। पार्टीको विभाजनलाई रोकौँला।’ 

यस्तो छ शर्माले विशेष महाधिवेशनका ५ प्रश्नबारे दिएका उत्तर

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा गर्ने गरी पार्टीका महाधिवेशन प्रतिनिधिहरूले एक पत्रकार सम्मेलनमार्फत आह्वान गरिसक्नुभएको छ। उहाँहरूले आह्वान गरेलगत्तै हामी दुवै महामन्त्रीले यसमा सहभागिता जनाउने घोषणा एक वक्तव्यमार्फत गरिसकेका छौँ।

यसबारेमा पार्टीका साथीहरूको, प्रेसका साथीहरूको र अन्य सबैको जिज्ञासाहरूलाई पाँचवटा प्रश्न हल गर्ने म प्रयास गर्नेछु। 

सुरुमा थोरै भूमिकामा जाऊँ। 

नेपाली कांग्रेसको पहिलो विशेष महाधिवेशनले पार्टीलाई त्यो समयको सही मार्गमा अघि बढ्न दूरदृष्टि र दृढ इच्छाशक्ति दिएको थियो। 

दोस्रो विशेष महाधिवेशन गर्दै गर्दा हामी भिन्न राष्ट्रिय अवस्था र भिन्न आन्तरिक जीवनको अवस्थाका बीचमा छौँ। 

यो संवेदनशील घडीमा हामी एकातर्फ पार्टीभित्रको एकतालाई मजबुत बनाएर पार्टी पंक्तिमा नवीन आत्मविश्वास भर्नुछ। 

अर्काेतर्फ नेपाली कांग्रेस पार्टीलाई बदलिएको समयअनुरूपको दृष्टि, योजना र संकल्पका साथ नेपाली समाजको विश्वास नयाँ ढंगले जित्नेगरी अग्रसर बनाएर लिएर जानुछ। 

अब पाँच प्रश्नमा जाऊँ। 

विशेष महाधिवेशनका कारण कतै नेपाली कांग्रेस विभाजित त हुँदैन? स्वदेश र विदेशबाट पार्टीका आदरणीय चिन्ता व्यक्त गर्दै यो प्रश्न सोधिरहनुभएको छ। 

मैले स्पष्ट गर्दै आएको छु र अहिले पनि गर्न चाहन्छु। विशेष महाधिवेशन हुन्छ। तर पार्टी विभाजन हुँदैन। यदि त्यस्तो हुन लागेमा सबभन्दा पहिले विश्वप्रकाश निक्लिनेछ। त्यसपछि सबै सँगै निक्लिउँला। पार्टीको विभाजनलाई रोकौँला। 

दोस्रो प्रश्न : के यो वैधानिक छ?

एकदम वैधानिक छ। नेपाली कांग्रेसको विधानको धारा १७ को उपधारा २ ले भन्छ– केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा विशेष महाधिवेशन हुन्छ। 

केन्द्रीय समितिले आवश्यक ठानेन भनेचाहिँ के हुन्छ? हुन्छ कि हुँदैन भन्दा हुन्छ। 

किनभने विधानको त्यही धाराले भन्छ-पार्टीको ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष कारण खुलाएर लिखित रूपमा माग दर्ता गरेमा विशेष महाधिवेशन बोलाउनुपर्छ। र, बोलाउने कुरा बाध्यकारी छ। 

त्यस्तो विशेष कारण के पर्‍यो? तेस्रो प्रश्न। 

तपाईं हामी सबै जान्दछौँ- भदौ २२ अगाडिको नेपाल यो होइन। समय, परिस्थिति, हाम्रो दायित्व, हाम्रो चुनौती सबै बदलिएको छ त्यसपछि। त्यसैले बदलिएको समयलाई सामना गर्ने गरी बदलिएर जानका लागि, केही नयाँ संकल्प लिनका लागि, केही नवीन दृष्टि बनाउनका लागि, केही नवीन जागरण सिर्जना गर्नका लागि विशेष परिस्थिति, विशेष निर्णय, विशेष महाधिवेशन। 

चौथो प्रश्न या जिज्ञासा भनौँ, जिल्लाजिल्लाबाट साथीहरूले सोधिरहनुभएको छ- विशेष महाधिवेशन बोलाउने बेलामा हस्ताक्षर नगरेका साथीहरू सहभागी हुन मिल्छ भनेर।

अवश्य मिल्छ। विशेष महाधिवेशन हस्ताक्षर गर्नेको पनि हो, नगर्नेको पनि हो। सबैको हो। विशेष महाधिवेशनको अझ उद्घाटनमा समारोहमा त पुसको २७ गते भृकुटीमण्डपमा पार्टीका सबै तहका साथीहरूले हजारौँको संख्यामा सहभागी हुन मिल्छ। आउनूस्, सबैलाई स्वागत छ। 

विशेष महाधिवेशनमा लागेपछि माघ ६ गते हुने उम्मेदवारी दर्ता र फागुन २१ गते हुने आम निर्वाचनलाई असर त गर्दैन?

साथीहरूको यो पाँचौँ जिज्ञासालाई म स्पष्ट गर्न चाहन्छु- मुर्झाएर बसेको कांग्रेसले भन्दा जुर्मुराएर उठेको कांग्रेसले निर्वाचनको मैदानमा बढी परिणाम दिनेछ। बढी परिणाम ल्याउनेछ। त्यसैले विशेष महाधिवेशनमा जुटौँ। सबै एक भएर भव्यतापूर्वक सफल बनाऔँ। नवीन संकल्प गरौँ। नवीन जागरण पैदा गरौँ।

भिडिओ-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad