नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरूले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पारेका छन्।
बुद्धिजीविहरूसँगको बुधबारको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले केही नेताहरूले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूलाई सभापति बन्ने चाहना नरहेको बताए।
उनले सभापति बन्ने चाहना राख्ने डा. शेखर कोइराला वा अन्य कोही पनि नेताहरू सभापति बन्नसक्ने बताए।
थापाले भने, ‘हतार हतार अरुलाई हटाएर सभापति बन्न खोज्यो भन्ने आरोप आयो। हामीलाई सभापति बन्नैछैन बाबा । को बन्नुछ बन्नुस्। तपाईंहरुमध्ये कुन नेतालाई बन्नुछ बन्नुस्। डा. शेखर कोइरालालाई बन्नुछ बन्नुस्। अर्को नेता बन्नुछ बन्नुस्। तर पार्टीलाई ठिक ठाउँमा उभ्याउनुपर्छ।’
उनले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरुरी रहेको स्पष्ट पारे। महामन्त्री थापाले पार्टीलाई ठिक ठाउँमा उभ्याउने आफूहरूको एकमात्र चाहना रहेको जिकिर गरे।
‘२३ र २४ गतेअघि हामी ठिक थिएनौँ भन्नेकुरा हमीले राख्यौँ। हामी उभिएको ठाउँ ठिक थिएन, गतिमति ठिक थिएन। नागरिकको रिस थियो। रिसको कारण छन्, त्यो बुझ्नुपर्छ र त्यसका आधारमा हामीले पार्टीका कार्यक्रम अघि बढाउनुपर्छ।’
महामन्त्री थापाले नेपालको ठूलो पार्टीलाई बनाउँ भन्ने मात्रै आफूहरुको चाहना रहेको बताए। संस्था जोगाउने र परिवर्तनको मुद्दा नमार्ने गरी आफूहरु अघि बढ्न चाहेको बताए।
Shares

प्रतिक्रिया