फागुन २० मा रिक्त हुने राष्ट्रियसभाका १८ सिटमा गठबन्धन गरेर निर्वाचन लड्ने तयारीमा लागेका प्रमुख तीन दलबीच सिट बाँडफाँडमा अझै सहमति जुटिसकेको छैन।
आगामी माघ ११ गते हुने निर्वाचनको लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। तर, कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच अझैसम्म पनि सिट बाँडफाँडमा सहमति जुटिनसकेको नेताहरुले बताएका छन्।
प्रमुख तीन दल विगत केही दिनदेखि राष्ट्रिय सभाका १८ सिटमा भागबण्डाको गृहकार्यमा लागेका छन्। तर, उम्मेदवारी दर्ता गर्ने अन्तिम दिनसम्म पनि सिट बाँडफाँडमा सहमति भइनसकेको नेकपाका नेता हरिबोल गजुरेलले जानकारी दिए।
‘कांग्रेस र एमालेसँग हामीले मतभारको आधारमा सिट बाँडफाँड गरौँ भन्ने प्रस्ताव गरेका हौँ,’ उनले नेपालखबरसँग भने, ‘तर उनीहरुले हाम्रो मतभार भन्दा कम सिट दिने तयारी गरेका छन्, हामीले त्यसमा सहमति जनाएका छैनौँ।’
यसले राष्ट्रिय सभामा नेकपाको कांग्रेस एमालेसँग गठबन्धन हुने सम्भावना कमजोर बन्दै गएको गजुरेलले बताए।
‘आज उम्मेदवारी दर्ता गर्ने दिन हो। उनीहरुसँग हाम्रो गठबन्धन हुने सम्भावना कम हुँदै गएको छ,’ गजुरेलले भने।
नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन हुन लागेका १८ सिटमध्ये चार सिटमा दाबी गर्दै आएको छ। तर, कांग्रेस एमाले भने तीन सिट मात्रै नेकपालाई दिन तयार भएका स्रोतले जनाएको छ।
चार सिट नपाउने अवस्थामा नेकपा गठबन्धनमा सहभागी नहुने सम्भावना बढेको नेता गजुरेलले बताए।
सिट बाँडफाँडमा सहमति नजुटेपछि नेपाली कम्युनिष्ट पार्टीका संयेजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी कसैसँग गठबन्धन नगर्ने अभिव्यक्ति दिएका छन्।
उनले मंगलबार सञ्चारकर्मीहरूसँग आगामी निर्वाचन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) मा आफ्नो दलले कसैसँग कुनै गठबन्धन नगर्ने दाबी गरेका थिए।
नेकपा गठबन्धनमा सहभागि नभए कांग्रेस र एमालेबीच मात्रै सिट बाँडफाँटको प्रयासमा दुई दलका नेता लागेका छन्। कांग्रेसले १० र एमालेले ८ सिट लिने विकल्पमा दुई दलबीच छलफल सुरु भएको छ।
राष्ट्रियसभामा आगामी २० फागुनदेखि रिक्त हुने १९ मध्ये १८ सिटका लागि निर्वाचन हुन लागेको हो।
रिक्त हुन लागेको एकसिटमा भने राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ। निर्वाचनका लागि बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय छुट्याइएको छ।
एमालेले राष्ट्रिय सभाका ६ जना उम्मेदवारसमेत छानिसकेको छ। तर, अन्य दलले भने अझै उम्मेदवार टुंग्याइसकेका छैनन्।
निर्वाचन आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ। मतभारमा कांग्रेस सबैभन्दा अगाडि छ। उसको मतभार २१ हजारभन्दा बढी छ।
त्यसैगरि एमालेको मतभार १७ हजारभन्दा बढी र नेकपाको १२ हजारभन्दा बढी मतभार छ।
Shares

प्रतिक्रिया