पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेशप्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
सप्तरी निवासी यादवलाई आज बिहान काठमाडौँको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीमा भित्र्याएका हुन्।
कार्यक्रममा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री तथा जसपाका महासचिव लालबाबु राउत, अर्का महासचिव रामकुमार शर्मा, एक साताअघि मात्रै अशोक राई नेतृत्वको जसपाबाट जसपा, नेपालमा प्रवेश गरेकी नेतृ रेणु यादव लगायतका नेता सहभागी थिए।
उमेश यादव १० वर्से जनयुद्धमा सहभागी भएका पूर्व माओवादी लडाकु हुन्।
उनी जनयुद्धताका सप्तरीमा जनसरकार प्रमुख पनि बनेका थिए। पछि ०६९ सालको निर्वाचनमा उनी तत्कालीन माओवादीबाट प्रतिनिधसभा सदस्य निर्वाचित भए।
सप्तरी ३ बाट विजयी भएपछि उनी त्यतिबेला प्रचण्ड नेतृत्वकाे सरकारमा सिंचाइमन्त्री पनि बनेका थिए।

०७४ को निर्वाचनमा भने उनी सप्तरी ३ मै उपेन्द्र यादवसँग पराजित बनेका थिए।
०७९ सालको निर्वाचनमा भने सोही क्षेत्रमा प्रदेश सांसदमा चुनाव लड्दा उनी पराजित बने। ०७९ को प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट उपेन्द्रलाई पराजित गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।
आगामी निर्वाचनमा पनि उमेशले सोही क्षेत्रबाट उम्मेदवार बन्ने आकांक्षा राखेका छन्। ‘यसमा पार्टीले जे निर्णय गर्छ त्यही हुन्छ,’ जसपा प्रवेश गरेपछि यादवले नेपालखबरसँग भने, ‘मैले अहिले चुनाव लड्छु या लड्दिन भन्न मिल्दैन।’
विगत केही समययता मधेस केन्द्रीत विभिन्न दल र नेताहरु उपेन्द्र यादव नेतृत्वको पार्टीमा गोलबन्द हुने क्रम बढ्दै गएको छ।
Shares

प्रतिक्रिया