राजनीति


मधेसमा फेरि उपेन्द्र यादवको उदय

मधेसमा फेरि उपेन्द्र यादवको उदय

फाइल तस्बिर


नेपालखबर
पुस १४, २०८२ सोमबार १४:३, काठमाडौँ

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)मा मधेसका विभिन्न पार्टी र समूहहरू एकीकृत हुने क्रम बढ्दै गएको छ।

गएको पाँच दिनमा मात्रै अध्यक्ष यादव नेतृत्वको पार्टीमा मधेसका तीनवटा पार्टी र समूहहरु एकीकृत भइसकेका छन्। यसले मधेसमा फेरि उपेन्द्र यादव शक्तिमा आउने सम्भावना बढेको छ। 

पुस ९ गते यादव नेतृत्वको जसपा नेपाल र स्वाधीन मधेस जनअभियानबीच कार्यगत एकताको सहमति भएको थियो। यादव र स्वाधीन मधेस जनअभियानका संयोजक कैलाश महतोले सहमति पत्रमा हस्ताक्षर गरेर सहकार्य सुरु गरेका छन्।

आइतबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँग पार्टी एकताको सहमति गरेका यादवले आज मात्रै अशोक राई नेतृत्वको जसपाका केही प्रभावशाली नेतालाई आफ्नो दलमा भित्र्याएका छन्। 

२०८१ वैशाख २३ गते अशोक राईले उपेन्द्र यादवसँगको सहकार्य तोडेर छुट्टै दल (जसपा) गठन गरेका थिए। त्यसयता नेपालको राष्ट्रिय राजनीतिमा कमजोर बनेका उपेन्द्र फेरि शक्तिमा आउने सम्भावना बढ्दै गएको छ। 

हृदशय त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीसँग पनि एकताको लागि छलफल चलिरहेको जसपा नेपालका सञ्चार विभागका सचिव  महेश चौरसियाले जानकारी दिए। 

उत यादवसँग अलग भएका अशाेक राई भने पार्टीमा एक्लिँदै गएका छन्।

गएको मंसिर पहिलो साता मात्रै राई नेतृत्वको जसपाबाट राजेन्द्र श्रेष्ठ समूह बाहिरिएको थियो। श्रेष्ठ समूहले प्रचण्ड नेतृत्वको नेकपासँग एकता गरिसकेको छ। 

०७९ सालको निर्वाचनमा सप्तरी २ बाट सांसदमा पराजित भएपछि यादवलाई राजनीतिमा ठूलो धक्का लागेको थियो। 

त्यतिबेला आफ्नै निर्वाचन क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग दोब्बरभन्दा बढी मतान्तरले उनी पराजित भएका थिए। 

राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा यादवले १६ हजार ९७९ मत मात्रै प्राप्त गरेका थिए। तर, सप्तरीबाट पराजित भए पनि यादवले उपनिर्वाचनमा चुनाव जिते। 

२०८० को वैशाखमा भएको प्रतिनिधि सभा उपनिर्वाचनमा यादव कांग्रेस, माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर २ मा उम्मेदवार बने। त्यो निर्वाचनमा विजयी बनेपछि भने यादवको लागि फेरि सत्ताको ढोका खुलेको थियो।

पूर्व एमाले नेता राई पछिल्लो समय राजनीतिमा एक्लिँदै जाँदा उपेद्र यादवले भने मधेसमा आफ्नाे पुरानाे शाख फर्काउने सम्भावना बढाएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad