ad ad

राजनीति


सरकारलाई नगरपालिका फोरमको सुझाव : उपत्यका प्रवेशमा कडाइ गरौँ, भित्र अलि खुकुलो पारौँ

सरकारलाई नगरपालिका फोरमको सुझाव : उपत्यका प्रवेशमा कडाइ गरौँ, भित्र अलि खुकुलो पारौँ

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ७:०,

 उपत्यका नगरपालिका फोरमले उपत्यका प्रवेशमा कडाइ गर्न र भित्र केही खुकुलो बनाउन माग गरेको छ।

उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमका पदाधिकारीले मंगलबार कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग रक्षा मन्त्रालयमा भेट गरी उपत्यका प्रवेशमा कडाइ गर्न र भित्र भने केही खुकुलो बनाउन माग गरेका हुन्।

‘बाहिरका केही स्थानमा संक्रमितको सख्या बढीरहेको छ। यस्तो बेला आवतजावतमा कडाई गर्न सकिएन भने संक्रमण फैलिने डर हुन्छ। त्यसैले हामीले उपत्यका प्रवेशमा कडाइ गर्न माग गरेका हौँ’, फोरमका अध्यक्षसमेत रहेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने। उनले आवतजावत रोकेपछि भित्र भने केही खुकुलो बनाउन माग राखेको जानकारी दिए।

‘काठमाडौंबाट मजदुर–विद्यार्थीलगायतलाई धमाधम गाउँ फर्काउने र बाहिरबाट पनि काठमाडौँ पठाउने होडबाजी गर्दा त्यसले झन् समस्या थपिएको उनको भनाइ थियो। ‘यसलाई कडाइका साथ रोक्नुपर्छ भनेर भनेका छौँ,’ उनले भने, ‘हाम्रो मागप्रति मन्त्रीज्यू सकारात्मक हुनुहुन्छ। उहाँले समितिको बैठक र मन्त्रिपरिषद्मा समेत यी कुरा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।’

संयोजक पोख्रेललाई भेट्न फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबू महर्जन, सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, संघीय सांसदहरु कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठलगायत पदाधिकारीहरु रक्षा मन्त्रालय पुगेका थिए।

‘उपत्यकालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित भएर हामीले छलफल गर्यौँ,’ मध्यपुर ठिमी नगरपालिकाका प्रमुख एवं फोरमका सचिव श्रेष्ठले भने, ‘पुनः लकडाउन थप्ने र खुकुलो बनाउने भन्ने कुरा आइरहेको छ। खुकुलो बनाउने नाममा उपत्यकामा निर्वाध प्रवेश दिनुहुँदैन भनेर हामीले प्रष्टसँग भनेका छौँ।’ मेयर श्रेष्ठले पनि फोरमका मागप्रति मन्त्री सकारात्मक रहेको जानकारी दिए।

‘उपत्यका भित्रको चहलपहललाई खुकुलो बनाउने तर उपत्यका बाहिरबाट आउने र बाहिर जानेलाई कडाइ गर्नुपर्छ त्यो भयो भने मात्र उपत्यका सुरक्षित रहन्छ। हामीले हेलचेक्राईँ गर्ने र एक–दुई जना मात्रै संक्रमित उपत्यकामा प्रवेश गर्ने अवस्था भयो भने अवस्था भयावह हुनसक्छ भन्ने जानकारी गराएका छौँ,’ श्रेष्ठले भने, ‘भेटमा उपत्यकाका साना व्यवसायी र खेती–किसानीलाई सहज बनाउनुपर्छ भनेका छौँ।’

उपप्रधानमन्त्री पोखरेलको सचिवालयले उपत्यका नगरपालिका फोरमका पदाधिकारीको मागप्रति उपप्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .