आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि चितवन–१ बाट नेकपा एमालेले ६ जनाको नाम सिफारिस गर्दा एमाले नेता सुरेन्द्र पाण्डेको नाम छुटाएको छ।
एमालेका पूर्वउपाध्यक्ष समेत रहेका पाण्डेको नाम जिल्ला कमिटीले सिफारिस गरेको छैन।
आइतबार (आज) बसेको एमाले चितवन जिल्ला कमिटीको बैकठले एमाले बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, जिल्ला अध्यक्ष कमलराज पाठकदेखि जिल्ला सचिव भरत भण्डारी, प्रदेश सदस्य लक्ष्मी कोइराला पोखरेल, केन्द्रीय विभागका पूर्व सदस्य डा. किशोर खनाल र कृष्णलाल चौधरीको नाम सिफारिस गरेको हो।
पाण्डेको निर्वाचन क्षेत्र समेत रहेको चितवन–१ को उम्मेदवारमा उनकै नाम छुटाइएको हो। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पाण्डे यही क्षेत्रबाट चुनावी मैदानमा होमिएका थिए। तर रास्वपाका हरि ढकाल ७ हजार ५८१ मतान्तर सहित विजयी हुँदा पाण्डे पराजित हुनु परेको थियो।
यो पटक पाण्डेको नाम जिल्ला कमिटीले नै सिफारिस नगुर्नलाई चासोको साथ हेरिएको छ।
प्रतिनिधि सभा निर्वाचनका लागि पाण्डेको नाम सिफारिस नगर्नुमा जिल्ला कमिटीको कुनै योजना नभएको एमाले चितवनका अध्यक्ष कलमराज पाठकले बताए। पाण्डेले नै उम्मेवारीका लागि आवेदन नदिएको पाठकको दाबी छ। नेताहरूबाट प्राप्त निवेदनका आधारमा नाम सिफारिस गरिएको उनले बताए।
‘पार्टीको निर्वतमान उपाध्यक्ष जस्तो मान्छेको नाम हामीले सिफारिस नगर्ने भन्ने हुँदैन। म आफैंले फोन गरेर तपाईंको नाम सिफारिस गरौँ भनेर सोधेको थिएँ,’ अध्यक्ष पाठकले नेपालखबरसँग भने, ‘उहाँले अहिले इच्छा छैन। नाम सिफारिस गर्न पर्दैन भन्नुभयो। उहाँले चुनाव लड्न इच्छा छैन भन्दाभन्दै नाम पठाउने कुरा पनि आएन।’
उम्मेदवारीका लागि आकांक्षीहरूलाई खुल्ला आवेदन दिन आह्वान गरिएको बताउँदै उनले थपे, ‘हलमा भएका सबैले आ–आफ्नो खुसीमा आवेदन दिनुभयो। उहाँलाई नदेखेपछि मैले फोन गरेँ। अहिले बाहिर छु। केही पनि गर्नु पर्दैन भन्नुभयो। उहाँ आउनु पनि भएन। त्यसैले नाम सिफारिस पनि गरिएन।’
सिफारिसमा परेका ६ जना नै एमाले अध्यक्ष केपी शर्मा ओली निकट देखियो, उहाँले राजनीतिक धार परिवर्तन गरेको कारण उम्मेदवार सिफारिस नगरिएको हो? नेपालखबरको यो प्रश्नमा अध्यक्ष पाठकले भने, ‘त्यस्तो होइन। त्यस्ता प्रतिस्पर्धा महाधिवेशनमा मात्रै हुन्छ। गुट छुट्याएर कसैको पनि नाम सिफारिस गर्ने र काट्ने काम भएको छैन। उहाँले चुनाव लड्न आकांक्षा नदेखाएकै कारण मात्रै नाम सिफारिस नगरेको हो।’
एमालेको गत ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट महासचिवमा चुनाव लडेका थिए। तर उनी पराजित भएका थिए। पूर्वअर्थमन्त्री समेत रहेका पाण्डे एमालेका बौद्धिक नेताको रुपमा परिचित छन्।
Shares

प्रतिक्रिया