प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षका लागि ८ जना ‘सर्टलिस्ट’मा परेका छन्।
उपाध्यक्ष छनोट तथा सिफारिस समितिले आवेदन दिएका २९ जनामध्ये ८ जनाको नाम ‘सर्टलिस्ट’ राखेको हो। उनीहरूको प्रस्तुतीकरण र अन्तर्वार्ताबाट उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गरिनेछ।
उपाध्यक्षका लागि उपेन्द्र पोखरेल, उमेशकुमार मिश्र, काजिराम अधिकारी, कुष्माकर भट्ट, खेमराज जोशी, टैलेन्द्र आचार्य, मोहम्मद सफिउल्लाह र हरिशंकर प्रसाद साह ‘सर्टलिस्ट’मा परेका हुन्। उनीहरूको पुस २८ गते शिक्षा शिक्षा मन्त्रालयमा अन्तर्वार्ता र प्रस्तुतीकरण हुने समितिले जनाएको छ।
उनीहरूमध्ये छनोट समितिले ३ जनाको नाम सिफारिस गर्नेछ। त्यसमध्ये एक जनालाई मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा नियुक्ति गर्नेछ।
सीटीईभीटीको उपाध्यक्ष २०८१ माघदेखि नै खाली रहेको छ। तत्कालीन उपाध्यक्ष ओमप्रसाद बराललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतले बदर गरेपछि सीटीईभीटी उपाध्यक्षविहीन भएको हो।
२०८१ मंसिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सीटीईभीटीको उपाध्यक्षमा बराललाई नियुक्त गर्ने निर्णय गरेको थियो। बरालको योग्यतामाथि प्रश्न उठाउँदै टैलेन्द्र आचार्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसमाथि २०८१ माघ २० मा सुनुवाइ गर्दै सर्वोच्च अदालतले बरालको योग्यता नपुग्ने ठहर गरेको थियो।
Shares

प्रतिक्रिया