ad ad

राजनीति


बिहान चार नेताबीच ब्रेकफास्ट बैठक, दिउँसो ओली–प्रचण्ड भेट

बिहान चार नेताबीच ब्रेकफास्ट बैठक, दिउँसो ओली–प्रचण्ड भेट

सागर न्यौपाने
बैशाख २२, २०७७ सोमबार १७:४६,

वैशाख २५ गते बस्ने स्थायी समिति बैठकको कार्ययोजना बनाउने जिम्मेवारी पाएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र आन्तरिक भेटघाट तीव्र पारेका छन्।

सोमबार बिहान वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेपछि प्रचण्ड प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न दिउँसो बालुवाटार पुगेका थिए।

स्रोतहरूका अनुसार २५ गते काठमाडौंमा बस्ने नेकपाको ४४ सदस्यीय स्थायी समितिको बैठकमा पार्टीको नयाँ कार्ययोजना सहितको प्रतिवेदन अध्यक्ष प्रचण्डले प्रस्तुत गर्ने तयारी छ।

सोमाबार बिहान प्रचण्डसहित सचिवालयका चार जना नेताहरुबीच ललितपुरस्थित एक नेताको निवासमा स्थायी समितिमा कसरी जाने भन्ने विषयमा ब्रेकफास्टसहित छलफल भएको हो।

‘हामी चार नेताबीच स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले ल्याउने प्रतिवेदनको विषयमा छलफल भएको हो’, बैठकमा सहभागी सचिवालयका एक नेताले भने, ‘अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदन पार्टीभित्र देखिएका समस्या हल गर्ने गरी ल्याउन सुझाव दिएका छौं।’

नेकपाका वरिष्ठ नेता खनालका अनुसार स्थायी समितिको बैठकमा पार्टीभित्र बढेको विकृतिबारे खुलेर छलफल गर्ने तयारी भइरहेको छ।

‘विकृति र फोहोरमैला बढारकुढार पारेर पार्टीलाई सङ्लो, सुदृढ, एकताबद्ध र समुन्नति उन्मुख बनाउनुपर्छ, त्यसमा स्थायी समिति बैठक निर्णायक हुनेछ’, खनालले भने।

प्रधानमन्त्री ओलीले दुईवटा विवादास्पद अध्यादेश ल्याएपछि स्थायी समितिका २० जना नेताहरुले लिखित रुपमा बैठकको माग गर्दै अध्यक्ष ओली र प्रचण्डसमक्ष पत्र बुझाएका थिए।

स्थायी समितिका एक सदस्यले नेकपामा सचिवालयभन्दा स्थायी समिति शक्तिशाली हुने तर्क गर्दै सचिवालयबाट पार नलागेका विषय त्यहाँबाट टुंगिने दाबी गरे।

‘प्रधानमन्त्रीको कार्यशैलीदेखि अध्यादेशले पार्टीमा पारेको प्रभावको बारेमा घनीभूत छलफल हुन्छ’, उनले थपे।

४४ सदस्यीय स्थायी समितिको बैठक एकैदिन सक्ने तयारी सुरुमा गरिए पनि समय थप गर्ने विषयमा गृहकार्य भइरहेको छ।

‘एकदिने भनिएको छ तर, थुप्रै विषयमा छलफल गर्नुपर्ने भएकोले लामै जाने संभावना छ,’ स्थायी समितिका ती सदस्यले भने।

शनिबार बसेको नेकपाको सचिवालय बैठकले २५ गते स्थायी समितिको मिति तोकेको थियो। त्यसअघि २४ गते बस्ने सचिवालयको बैठकमा प्रचण्डले तयार गरेको प्रतिवेदनमाथि छलफल र परिमार्जन हुनेछ।

आइतबार दिउँसो वरिष्ठ नेता नेपालसँग भेट गरेका प्रचण्डले बिहान अर्का वरिष्ठ नेता खनालसँग भेट गरी शनिबारको सचिवालय बैठकअघि प्रधानमन्त्री ओली र आफुबीच भएको समझदारीबारे प्रष्ट्याएका थिए।

उनीहरूसहित स्थायी समितिका सदस्यहरूलाई प्रचण्डले समूह समूहमा पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने विषयमा आफू केन्द्रीत भएको र एक्लै कुनै सम्झौता नगरेको बताएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .