छापा खबर


राहत लिन पुगेका सिराहा र पर्साका विपन्नलाई प्रहरीको लाठी

राहत लिन पुगेका सिराहा र पर्साका विपन्नलाई प्रहरीको लाठी

नेपालखबर
बैशाख २२, २०७७ सोमबार २३:५६,

लकडाउनका कारण हातमुख जोड्न समस्यामा परेका सर्वसाधारणले सिराहा र पर्साका स्थानीय सरकारबाट राहत होइन, प्रहरीको लाठी उपहार पाएका छन्।

सिराहाको मिर्चैया नगरपालिका र पर्साको जगरनाथपुर गाउँपालिकामा स्थानीय र प्रहरीबीच झडप हुँदा सोमबार करिब डेढ दर्जन घाइते भएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

प्रदेश सरकारले उपलब्ध गराएको राहतमा स्थानीय जनप्रतिनिधिले वास्तविक पीडितको नाम काटेर आफ्ना कार्यकर्तालाई प्राथमिकतामा राखेको तथा भर्पाई गरिएभन्दा कम राहत दिएको भन्दै सर्वसाधारणले प्रश्न गरेपछि झडपको स्थिति बनेको थियो ।

भिड नियन्त्रण गर्न मिर्चैया–७ फूलबरियामा त प्रहरीले लाठीचार्ज मात्रै होइन, नौ राउन्ड हवाई फायर र चार सेल अश्रुग्याससमेत प्रहार गरेको छ । त्यससँगै सेना र सशस्त्र प्रहरीसमेत परिचालन गरेर स्थिति सामान्य बनाइएको छ।

प्रहरीको लाठीबाट राहत लिन आएका स्थानीय दलित सियाराम महरा, शेरोदेवी महरा र दुलारचन्द्र पासवान घाइते भएका छन् । राहत माग्न आउँदा पनि प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित बनेका स्थानीयले वडा कार्यालयमा ढुंगामुढा गरेका थिए।

त्यस क्रममा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलाल जैसवाल, असइ वीरेन्द्र मण्डल, हवल्दार सरस्वती चौधरी तथा प्रहरी जवानद्वय मोनिका अधिकारी र सावित्रा खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

वडा कार्यालयले प्रतिपरिवार १२ किलो चामल, एक किलो दाल, एक किलो नुन, पाँच सय ग्राम सोयाबिन, आधा लिटर खानेतेल राहत वितरणका लागि तयार गरेको थियो ।

तर, लक्षित घरपरिवार पहिचान तथा राहत वितरण समितिले छनोट गरेको सूचीबाट वडाध्यक्ष रामकुमार यादवले मनपरी ढंगले नाम हटाउने र थप्ने गरेपछि स्थानीय विपन्नले आपत्ति जनाएका थिए । ‘राहत दिनुको साटो प्रहरीले हामीमाथि लाठीचार्ज गरेको छ,’ स्थानीय रामेश्वर यादवले भने।

पर्साको जगरनाथपुर गाउँपालिका–१ पिडारीगुठीमा पनि राहत वितरणका क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । प्रहरीको लाठीबाट नौजना घाइते भएका छन् । एकजनाको हात भाँचिएको छ । घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

प्रदेश सरकारले विपन्न परिवारलाई भनेर दिएको राहत स्थानीय जनप्रतिनिधिले आफ्नो पार्टीका कार्यकर्तालाई बाँडेको र वास्तविक पीडितलाई भर्पाई गराएभन्दा कम दिएको भन्दै सर्वसाधारणले प्रश्न उठाएपछि झडपको स्थिति सिर्जना भएको थियो।

राहत वितरण गर्दा वडा कार्यालयले गराएको भर्पाईमा प्रतिपरिवार चामल २५ किलो, आलु पाँच किलो, दाल दुई किलो, खानेतेल दुई लिटर, प्याज दुई किलो, सोयाबिन एक किलो र साबुन चार थान उल्लेख गरिएको छ।

तर, वडाध्यक्ष मगरु राउत गद्दीले चामल १० किलो, आलु एक किलो र प्याज आधा किलो मात्रै बाँड्न खोजेपछि विरोध गरिएको स्थानीय प्रमोद यादवले बताए । ‘त्यसपछि वडाध्यक्षले प्रहरी बोलाएर कुटपिट गराए,’ उनले भने । झडपपछि राहत वितरण स्थगित गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad