ad ad

समाज


लकडाउनमा प्रहरी छल्दै भारतबाट पाँच हजार बढी भित्रिए, भारतीय पनि जबर्जस्ती आउँदा जोखिम बढ्यो

लकडाउनमा प्रहरी छल्दै भारतबाट पाँच हजार बढी भित्रिए, भारतीय पनि जबर्जस्ती आउँदा जोखिम बढ्यो

उजिर कार्की
बैशाख २२, २०७७ सोमबार १६:१७,

सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट ठूलो संख्यामा नेपाली भित्रिएको पाइएको छ। खुल्ला सीमाका कारण गस्तीमा रहेका प्रहरीलाई छल्दै उनीहरु भित्रिएका हुन्।

यसरी सबैभन्दा बढी प्रदेश २ मा भित्रिएको पाइएको छ। प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार १ हजार ६ सय जनाभन्दा बढी भित्रिएको तथ्यांक स्थानीय तहले उपलब्ध गराएका छन्।

यसबाहेक स्थानीय निकायको सम्पर्कमा नरहेका पनि ठूलो संख्यामा हुन सक्ने घिमिरेको अनुमान छ।

सुदूरपश्चिम प्रदेश र प्रदेश ५ मा पनि लकडाउनका बेला ठूलो संख्यामा भारतबाट नेपाली आएका छन्।

बाँकेमा आइतबार मात्रै १५ जना संक्रमित भेटिएका छन्। उनीहरुमा पनि लकडाउनका बेला भारतबाट आएका व्यक्तिबाटै संक्रमण भएको पाइएको छ।

यस्तै प्रदेश १ मा पनि झापा, मोरङ र सुनसरीमा पनि नेपाल प्रवेश गर्नेहरुको संख्या ठूलो छ। तर, सरकारले तिनको तथ्यांक राखेको छैन।

नेपाल प्रवेश गर्ने भारतीय र प्रहरीको बीचमा झापामा विवादनै चलेको थियो। झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जबर्जस्ती गरेर भारतीय नागरिक समेत छिर्न खोजिरहेको बताए।

‘कोही खेती यता छ भन्दै आउँछन्, कोही आफन्त छन् भन्दै आउँछन्, जनशक्ति थप गर्न आवश्यक देखिएको छ,’ एसपी कोइरालाले भने।

प्रदेश २ मा खुल्ला सिमाना नै मुख्य चुनौती बनेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए।

‘४ सय ८० किलोमिटर खुल्ला सिमाना छ, जहाँबाट पनि छिर्न सकिन्छ अरु क्षेत्रमा जस्तो नदी पनि छैन। भारतको सहयोग बिना रोक्न असम्भव देखिएको छ,’ डीआईजी सिंहले भने, ‘भारतमा खुकुलो हुँदै जाँदा चुनौती थपिँदै गएको छ।’

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले भारतीयकै सहयोगमा महाकाली नदी तरेर नेपाली आउने गरेको स्वीकार गरे।

मुख्य नाकामा समस्या छैन तर ट्युबको सहारामा समेत नदी तरेर नेपाल आएको पाइयो, अहिले हामीले भारतीय प्रहरीसँग समन्वय गरेर त्यहाँका ट्युबहरु नियन्त्रणमा लिएका छौं।

सीमामा रोकिएका करिब २ हजार ५ सय जनालाई गतसाता नेपाल प्रवेश गराइएको थियो। उनीहरु बैतडी र बाजुराका हुन्। त्यसअघि महाकाली नदीमा पौडिएर र ट्युबबाट पनि ठूलो संख्यामा भित्रिएका थिए।

यसरी भित्रिनबाट रोक्न स्थानीयलाई समेत सचेत गराएको डीआईजी सुवेदीले बताए।

लकडाउनको समयमा प्रहरीलाई छल्दै यसरी नेपाल भित्रिनेको संख्या पाँच हजार बढी हुनसक्ने देखिएको छ। भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएका बेला यसरी रातदिन नेपाल भित्रिने क्रम बढिरहेकाले नेपालमा आमागी साता संक्रमणले भयावह रुप लिनसक्ने सुरक्षा अधिकारीहरू बताउँछन्।

भारतीय सिमानाबाट लकडाउनका बेला पनि ठूलो संख्यामा नेपाली प्रवेश गरेको जानकारीपछि कडाइ गर्ने तयारी भइरहेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए।

‘कहाँ कहाँ जोखिम छ? कति जनशक्ति र चेकपोस्ट आवश्यक छ? ती जनशक्ति कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर हामीले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग रिपोर्ट मागेका छौं,’ प्रवक्ता शर्माले भने।

कारागार, सरकारी संरचनाको सुरक्षा र भीआईपीको सुरक्षामा खटिएका जनशक्ति फिर्ता गराउने तयारी भइरहेको छ। यी क्षेत्रमा नेपाली सेनालाई जिम्मा दिएर प्रहरीलाई सीमा क्षेत्रमा पठाउने गृहको तयारी छ।

गृहको निर्देशनपछि सोमबार नै सशस्त्र प्रहरीले करिब ३ सय ७९ सुरक्षा पोस्ट र ९ हजार जनशक्ति थप गर्न गृहमा प्रस्ताव गरेको छ।

यस्तै नेपाल प्रहरीले पनि कारागारको सुरक्षामा रहेका १ हजार ४ सय ४१ जना र उपत्यकाका महत्वपूर्ण प्रतिष्ठानको सुरक्षामा खटिएका ३ सय ५५ जनालाई पठाउने तयारी गरेको छ।

भारतर्फ १ हजार ८ सय ८० किलोमिटर खुल्ला सिमाना छ। यही मुख्य समस्या रहेको प्रवक्ता शर्मा बताउँछन्।

‘न पर्खाल छ, न काँडेतार त्यसैले थप जनशक्ति पठाउन खोजिएको हो,’ प्रवक्ता शर्माले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .