नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टीले नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले नियमित महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखे। कांग्रेसभित्रका परिवर्तनविरोधी शक्तिहरूको षड्यन्त्र चिर्न विशेष महाधिवेशन आवश्यक रहेको उनको भनाइ छ।
उनले पार्टी महामन्त्री गगनकुमार थापालाई पार्टी सभापति तथा प्रधानमन्त्रीका लागि अघि सारेर कांग्रेस निर्वाचनमा जानुपर्ने प्रस्ताव पनि राखे। उनले महाधिवेशन हुन नदिई पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य नहुने बताए।
उनले भने, ‘नेपाली कांग्रेस नयाँ नेतृत्वको साथ आसन्न निर्वाचनमा जानुपर्छ। त्यसको लागि नियमित महाधिवेशन गरौँ। यदि नियमित महाधिवेशन सम्भव छैन भनेर विषेश महाधिवेशन गरौँ। सोहीअनुसार नयाँ नेतृत्व, नीति र कार्यदिशाका साथ अगाडि बढ्नुपर्छ। गगनलाई नै पार्टी सभापति र प्रधानमन्त्रीको लागि अघि सारेर काँग्रेस निर्वाचनमा जानुपर्छ।’
उनले आसन्न निर्वाचनमा आफ्ना मान्छेहरुलाई टिकट बाँड्न नपाइने भएका कारण पार्टी नेतृत्व महाधिवेशन हुन नदिने पक्षमा रहेको आरोप पनि लगाए।
उनले पार्टीको विषेश महाधिवेशनको प्रक्रिया अघि बढिसकेका कारण नियमित महाधिवेशनको औचित्य समाप्त भइसकेको बताए।
Shares

प्रतिक्रिया