राजनीति


देउवाले बोलाए गगन-विश्वप्रकाशलाई छलफलमा

देउवाले बोलाए गगन-विश्वप्रकाशलाई छलफलमा

नेपालखबर
पुस १७, २०८२ बिहिबार १६:२, काठमाडौँ

नेपाली कांग्रेसमा महाधिवेशनको विवाद चर्किएपछि सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन्। 

सभापति देउवाले बिहीबार साँझ ५ बजे आफ्नो निवास महाराजगञ्जमा महामन्त्रीसद्वयलाई छलफलका लागि बोलाएका हुन्। सभापति देउवाले आजै बिहान उपसभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका थिए। 

देउवासँगको छलफलपछि नेता लेखकले नेपालखबरसँग भने, ‘आज बिहान सभापतिजीसँग भेट भएको थियो। आज साँझ दुई जना महामन्त्रीलाई सभापतिजीले छलफलका लागि बोलाउनु भएको छ।’ 

नियमित महाधिवेशन तोकिसकेपछि विशेष महाधिवेशनमा जाने स्थिति नरहेको भन्दै विवाद समाधानका लागि सभापतिले महामन्त्रीसँग छलफल गर्ने लागेको लेखकको भनाइ छ।

‘नियमित महाधिवेशन तोकिसकेपछि विशेष महाधिवेशनमा जाने स्थिति छैन। सभापतिजीले महाधिवेशनको विवाद समाधानका लागि दुवै जना महामन्त्रीजीसँग छलफल गर्नुहुन्छ। नियमित महाधिवेशन सभापतिजीले नै तोक्नुपर्छ भन्नुभएको थियो,’ लेखकले प्रश्न गरे, ‘गर्दागर्दै सकिएन त के गर्ने? क्रियाशील सदस्य बाँड्न सभापतिले जाने होइन होला नि?’

यता विशेष महाधिवेशन पक्षधर नेताहरूले बिहीबार ‘हल बुकिङ’ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार, पुस २७ र २८ गतेका लागि ‘हल बुकिङ’ गरिएको छ। 

गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो। कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्छ। 

गत मंसिर १५ मा केन्द्रीय कार्यसमिति बैठकबाट सर्वसम्मत रुपमा पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय भएको थियो। तर, निर्धारित नियमित महाधिवेशन नहुने निश्चित भएपछि विशेष महाधिवेशनको मुद्दा फेरि उठेको हो। 

यी पनि पढ्नुहोस् : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad