नेपाली कम्युनिस्ट पार्टीका नेता गिरीराजमणि पोखरेलले आफूले ०७९ सालमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचन लड्दा भएको खर्चको सम्पूर्ण विवरण नियमअनुसार उतिबेलै बुझाएको प्रस्टीकरण दिएका छन्।
केही सञ्चार माध्यमले अघिल्लो निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारको सूचीमा आफ्नो नामसमेत राखेकोप्रति चासो राख्दै उनले निर्वाचनको मुखमा अरुको चरित्र र छविमा आँच आउनेगरी समाचार प्रसारण नगर्न पनि आग्रह गरेका छन्।
‘निर्वाचनको एउटा वातावरण बनिरहेको परिवेशमा नियतमा कुनै समस्या छैन भने पनि अरुको चरित्र र छविमा आँच आउनेगरी समाचार प्रसारण गर्नुअघि आफ्नै विश्वसनीयतामाथि पनि प्रश्न उठ्न सक्छ भन्ने कुरालाई हेक्का राख्न विशेष आग्रह गर्छु,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।
प्रस्टीकरणसँगै उनले उतिबेला निर्वाचन आयोगलाई बुझाएको खर्चविवरणसहितका पत्रहरूसमेत सार्जजनिक गरेका छन्।
यस्तो छ पोखरेलको भनाइ
केही पत्रपत्रिकाले निर्वाचन आयोगलाईसमेत नसोधि मलाई तथाकिथत कालो सूचीमा परेको भ्रामक समाचार सम्प्रेषण गरेछन्। मेरो नाम पनि त्यहाँ जोडिएको कारण आज (बुधबार) म निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा गएँ। त्यहाँका प्रमुख माननीय रामप्रसाद भण्डारीसँग भेटघाट गरेँ। त्यहाँ पुगेपछि चुनावको वातावरण बन्दै गएको पृष्ठभूमिमा यस्ता समाचारहरूले नकारात्मक सन्देश प्रवाह गर्न खोजेको पनि मैले अनुभूति गरेँ।
सबैलाई विदितै छ २०७९। ८। ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा म गिरिराजमणि पोखरेल प्रतिनिधि सभाको उम्मेदवार थिए। निर्वाचन सम्पन्न पश्चात मेरो प्रतिनिधि प्रकाशहरी पोखरेल मार्फत जिल्ला निर्वाचन कार्यलय महोत्तरीमा निर्वाचन खर्च बिबरण पेश गरेको थिए।
केही महिना पछि निर्वाचन आयोगले खर्च बिबरण पेश गरेर मात्र पुग्दैन त्यसको सार्वजनिक गरेको बिबरण समेत माग गरेकोले मिति २०८०/१ /१३ मा म स्थायी बसोबास गरी रहेको बर्दिबास नगरपालिका वडा नम्बर ३को कार्यलयबाट सुचना टास गरेको प्रमाणित प्रतिलिपि र निवेदन सहित म स्वयले निर्वाचन आयोगको कार्यलय कान्तिपथ काठमाडौंमा पेश गरेको थिए।
तत्कालीन प्रमुख निर्वाचन आयुक्त माननीय दिनेश थपलिया रहनुभएको बेलामा मिति २०८०/४/१२ गते निर्वाचन आयोगमा तोक लगाई सोही दिन दर्ता नम्बर २११ मा दर्ता समेत गरेको थियो। सो को जानकारी जिल्ला निर्वाचन कार्यलय महोत्तरीलाई २०८०/४/१२ गते कार्यलय प्रमुखले भने बमोजिम मेरो सहयोगी गणेश बस्नेतको इमेल मार्फत पठाएको र कार्यलय प्रमुखलाई जानकारी गराइएको थियो।
निर्वाचनसँग सम्बन्धित यति तोकिएको मापदण्ड र नियमहरू पुरा गर्दा गर्दै के कति त्रुटिको कारण पुन उक्त कार्यलयले मेरो नाम कालोसुचिमा राखेको होला भनेर मेरो मनमा प्रश्न उठेको थियो। त्यही जिज्ञासा मेट्न म केन्द्रीय कार्यालय पुगेको थिएँ। प्रमुख निर्वाचन आयुक्तसँगको आजको भेटघाटपछि निर्वाचन आयोगको यो ढङ्गको सोचाइनै रहेनछ भन्ने प्रष्ट भएको छ।। उहाँहरुले आज जारी गरेको वक्तव्यले यो विषयलाई प्रष्ट पारेको छ। निर्वाचन आयोगको वक्तव्य यसैमा संलग्न छ०अझ अदालतले यस बारेमा गरेको फैसलालाई सुन्दा जरिवाना तिर्नुपर्ने पनि देखिँदैन।
निर्वाचन आयोगका कार्यालयलाई यति भन्न चाहन्छु सुशासन ,पारदर्शिता र जवाफदेहिता तपाईहरुबाटै सुरु हुनुपर्छ। केन्द्रदेखि तलसम्मका एकाइले एउटै लयमा काम गर्नुपर्छ। माथिदेखि तलको संयोजन खैरु माथिले तललाई तलले माथिलाई प्रतिवेदन दिनुपर्दैनरु आफ्नो कार्यालयलाई व्यवस्थित गर्ने र नियमित ढंगले केन्द्रीय कार्यालयलाई जानकारी गराउने जिम्मा जिल्लाहरूको हो। चुनावको बेला असाधारण खटेर मात्र निर्वाचन आयोगको विश्वसनीयता हुँदैन। यो निरन्तर चलिरहने प्रक्रिया हो।
निर्वाचन लोकतन्त्रको ज्यादै महत्वपूर्ण पक्ष हो। र, त्यसलाई सम्पादन गर्ने जिम्मेवारी तपाईँहरूको काँधमा छ। तपाईंको सानो गल्तीले पनि राष्ट्र हाँक्ने नेतृत्वको चरित्रमाथि असर पर्छ भन्ने ध्यान दिन जरुरी छ। गल्ती गर्नेलाई छुट दिनुपर्छ भन्ने मेरो मान्यता छैन।कारबाहीको दिशामा अघि बढ्नुस् । ठिक ढंगले प्रणाली लागू गर्यो भने त्यो समस्या पनि स्व सञ्चालित प्रक्रियाबाटै हल हुनेछ।
पत्रकार मित्रहरूलाई यति भन्न चाहन्छु निर्वाचनको एउटा वातावरण बनिरहेको परिवेशमा ,नियतमा कुनै समस्या छैन भने पनि ,अरुको चरित्र र छविमा आँच आउने गरी यस्ता समाचार प्रसारण गर्नु अघि आफ्नै विश्वसनीयतामाथि पनि प्रश्न उठ्न सक्छ भन्ने कुरालाई हेक्का राख्न विशेष आग्रह गर्छु।
म जैले पनि जनताप्रति उत्तरदायी र जनताको प्रतक्ष सहयोग, सदभावका आधारमा जनतासँगै रहने व्यक्ति हुँ। म र मेरो दलसँग असहमत हुने व्यक्तिले गरेको अनर्गल प्रचारसँग सबै जनता सचेत रही त्यस्ता गलत प्रचारको बिरुद्द डटेर मुकाबिला गर्न महोतरी क्षेत्र नम्बर १ का जनतालाई सार्वजनिक रूपमा आह्वान गर्दछु।
Shares

प्रतिक्रिया