आन्दोलनकारी जेनजीहरूले भदौ २४ गते निजी क्षेत्रले बेहोरेको क्षतिप्रति सहानुभूति प्रकट गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा रक्षा बमलगायत जेनजीहरूले सम्बोधन गरेका थिए।
‘हाम्रो आन्दोलनमा निजी क्षेत्रमा पनि ठूलो क्षति भएको छ। त्यो क्षति हामीले चाहेका थिएनौँ। सुरुमा २४ गते आएको थिएन, सुरुमा २३ गते आएको भएर २४ गते आयो। त्यसैले यहाँहरूप्रति हाम्रो सहानुभूति छ, यहाँहरूको पनि हामीप्रति सहानुभूति छ भन्ने आपेक्षा छ,’ जेनजी फ्रन्टकी संयोजक रक्षा बमले भनिन्।
उनले आगामी दिनमा सहकार्य र शान्तिपूर्ण वातावरण निर्माण गर्न आह्वान समेत गरिन्। त्यस्तै, देशलाई आर्थिक निकास दिन र युवाका लागि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने पनि बताइन्।
‘म आज यहाँ स्टेजमा उभिएर बोल्दै गर्दा आन्दोलनको दिन सम्झन्छु, म एउटा सम्भावित मृतक हुन सक्थेँ। म आन्दोलनमा गोली नलागेर बाँचेको मान्छे हो,’ उनले भनिन्, ‘यो तीन महिना मलाई तीन दशक जस्तो भएको छ।’
जेनजी आन्दोलनपछि जानी–नजानी आफू राजनीतिमा आउनुपरेको र यो तीन महिना तीन दशकजस्तो लागेको उनको भनाइ थियो।
रक्षाले राष्ट्रिय समृद्धिको निम्ति सरकार, निजी क्षेत्र र नागरिक समाजबीच एउटा साझा धरातल हुनुपर्ने कुरामा जोड दिइन्।
उनले छोटो समयमा नै बुझेको गहन रानीतिक अनुभवका आधारमा सुशासन कायम गर्न र भ्रष्टाचार निर्मूल पार्न सबै पक्षले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताइन्।
जेनजी मुभमेन्ट अलायन्सका प्रतिनिधि सुदीप सेठले वर्तमान प्रशासनिक ढिलासुस्ती र झञ्झटिलो सरकारी प्रक्रियाको आलोचना गर्दै डिजिटल प्रणाली, एआई र ब्लकचेन जस्ता आधुनिक प्रविधिमैत्री नीतिको आवश्यकतामा जोड दिनु पर्ने बताएका हुन्। सेठले निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिन र मेरुदण्ड मान्दै मधेस लगायतका क्षेत्रमा समान अवसर र रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे।
संवादमा प्रधानमन्त्री सुशीला कार्की, प्रमुख राजनीतिक दलका नेता र निजी क्षेत्रका व्यक्ति पनि सहभागी थिए।
Shares

प्रतिक्रिया