नेपाली कांग्रेस र नेपाली कांग्रेस (बीपी) बीच एकता हुने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग कांग्रेस बीपीका सभापति सुशीलमान शेरचनको टोलीले पार्टी एकताबारे पुस १४ मा छलफल गरेको हो।
पुस १३ मा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्यागहरूलाई घर फर्किन आह्वान गरेको थियो।
‘विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी–मिनाहा गर्ने निर्णय गरिएको छ,’ कांग्रेसको विज्ञप्तिमा उल्लेख छ, ‘यसरी कारबाही माफी–मिनाहा भएका व्यक्तिहरूको बहाल भएको पद नरहने गरी क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय यो बैठक गर्दछ।’
उक्त निर्णय भएको दोस्रो दिन कांग्रेस र कांग्रेस बीपीबीच एकता गर्न मोटामोटी सहमति भएको छ। कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्लले कांग्रेसको निर्णय स्वागतयोग्य भएको भन्दै आफ्नो पार्टी एकताका लागि सकारात्मक भएको नेपालखबरलाई बताए।
‘कांग्रेसले विभिन्न कारणले पार्टी छोडेका नेता कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरेको छ। कांग्रेसको निर्णय सकारात्मक र स्वागतयोग्य छ। हाम्रो सभापति, उपसभापति र महामन्त्रीजीले कांग्रेस सभापति शेरहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गर्नु भएको छ। मिलेर जानुपर्छ भन्ने कुरा भएको छ। केही दिनमै कांग्रेस र हाम्रो पार्टीका नेताहरूबीच एकताका सम्बन्धमा छलफल हुँदैछ,’ उनले भने।
२०७४ र ०७९ मा कांग्रेससँग रुष्ट भएका नेता–कार्यकर्ता ठूलो संख्यामा वडा सदस्यदेखि प्रतिनिधिसभासम्म बागी उम्मेदवार बनेका थिए।
यो निर्णयले कांग्रेसको राजनीतिक र सांगठनिक जीवनमा महत्व राख्ने मल्ल बताउँछन्। कांग्रेस बीपीलाई एकतामा लैजान कांग्रेस सभापति देउवा र कार्यवाहक सभापति खड्काको मुख्य भूमिका रहेको बताए। गत चुनावमा देउवाविरुद्ध लडेका मल्लले कांग्रेसमा फर्किने वातावरण बने उनलाई भारी मतले जिताउन आफू तयार रहेको बताए।
‘शेरबहादुर दाइप्रति मेरो हिजो पनि श्रद्धा थियो, आज पनि छ, भोलि पनि रहन्छ। कुरा मिल्दा भारी मतान्तरले जिताउन लाग्छु। कुरा मिलेन भने प्रतिस्पर्धा गर्छु,’ उनी भन्छन्।
कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले चाँडै कांग्रेस बीपीलाई कांग्रेसमा विलय गराउने विषयमा पार्टीको शीर्ष तहमा छलफल भइरहेको बताए।
उनले नेपालखबर भने, ‘उहाँहरूले एकता गर्ने कुरा गरिराख्नु भएको छ। नेपाली कांग्रेससँग विचारका आधारले सांगठनिक रूपमा एक हुनु राम्रो हो। शीर्ष तहमा छलफल भइरहेको छ। कहिले र कसरी एकता गर्ने भन्ने विषय नेताहरूको तहमा छलफलमै छ।’
प्रतिनिधिसभा निर्वाचन र पार्टीको १५ औँ महाधिवेशनअघि नै कांग्रेस बीपीलाई विलय गराउने तयारी भइरहेको विश्वकर्माको भनाइ छ।

कांग्रेस बीपीका संस्थापक सभापति हरिबोल भट्टराई, संस्थापक महामन्त्री पुष्पराज पराजुली, वरिष्ठ उपसभापति गोविन्द शर्मा पौडेल, उपसभापति विष्णुप्रसाद ढकाल, उपसभापति गोविन्द परियार, उपसभापति भरतराज शर्मा, महामन्त्री भक्तराज भुसाल, सहमहामन्त्री ऋषभ भट्टराई, प्रवक्ता शिवप्रसाद सिम्खडा, केन्द्रीय सदस्य यमबहादुर घले, केन्द्रीय सदस्य तथा नेविसंघ बीपी अध्यक्ष अञ्जान लामा र केन्द्रीय सदस् केशव भट्टराई गतवर्ष पुस २२ मै कांग्रेसमा प्रवेश गरेका थिए।
सभापति देउवाले भट्टराईलाई महासमिति सदस्यसहित ज्येष्ठ राजनीतिज्ञ सभा सदस्य बनाउँदा पुष्पराज शाहीलाई आमन्त्रित केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधिको भूमिकामा पार्टीमा भित्र्याएका थिए।
कति छ कांग्रेस बीपीको शक्ति?
कांग्रेस बीपीको ५४ जिल्ला र सातै प्रदेशमा कार्यसमिति छ। १५१ सदस्यीय केन्द्रीय समितिमा १२२ जना बीपी कांग्रेसमै छन् भने बाँकी पदाधिकारी र केन्द्रीय सदस्य यसअघि नै कांग्रेसमा प्रवेश गरिसकेका छन्। डडेल्धुरामा भने वडा तहसम्मै बीपी कांग्रेसको संगठन विस्तार भएको छ।
जिल्लाका ५२ वटै वडा, सात पालिका, दुई वटा प्रदेश र जिल्ला कार्यसमिति रहेको मल्लको दाबी छ। उनका अनुसार सभापति शेरचनको जिल्ला मुस्ताङ र काठमाडौंमा पनि कांग्रेस बीपीको संगठन तल्लो तहसम्म छ।
२०७९ को प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेस (बीपी)ले करुवा चुनाव चिन्हमा १२ हजार ५०२ मत पाएको थियो। कोसी प्रदेशमा २ हजार ५८, मधेसमा २ हजार ६ सय २२, बागमतीमा ३ हजार ७ सय १४, गण्डकीमा ७ सय ९१, लुम्बिनीमा १२ सय ८८, कर्णालीमा ५३८ र सुदूरपश्चिममा ६ हजार ९ स ७९ मत पाएको थियो।
नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति कर्ण मल्ल प्रवेश भएपछि डडेल्धुरामा नेपाली कांग्रेस बीपीको राम्रो जनमत देखिन्छ। मल्लले ०७९ को निर्वाचनमा देउवाविरुद्ध उम्मेदवारी दिँदा ७ हजार ५३५ मत ल्याएका थिए।
डडेल्धुराको प्रदेशसभा २ मा नेपाली कांग्रेस बीपीले समर्थन गरेका स्वतन्त्र उम्मेदवार तारा जोशीले कांग्रेसका गोविन्द बोहरालाई पराजित गरेका थिए। प्रदेशसभा सदस्यमा ११ हजार १६१ मत ल्याएर विजयी भएका जोशी अहिले रास्वपातिर ढल्किएका छन्।
२०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेस बीपीले डडेल्धुरामा दुई वटा वडाध्यक्ष जितेको छ। अमरगढी नगरपालिका–८ को वडाध्यक्षमा नेपाली कांग्रेस बीपीका नरबहादुर साकी र कांग्रेस सभापति शेरबहादुर देउवाको गृहवडा गन्यापधुरा गाउँपालिका–१ को अध्यक्षमा नरेश भण्डारी विजयी भएका थिए।
कांग्रेस बीपीलाई विलय गराउँदा कांग्रेसलाई केही हजार मत समानुपातिकमा थपिए पनि मुख्य राहत कांग्रेस सभापति देउवालाई नै हुने देखिन्छ। किनकि यो दलका सबैभन्दा बढी शक्ति डडेल्धुरामै छ।
Shares

प्रतिक्रिया