तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित हुने सर्लाहीका दुवै सांसद मधेसको मन्त्री बनेका छन्।
सर्लाही ३ (ख)बाट निर्वाचित हुने सांसद जवाहरलाल कुशवाहा र सर्लाही ४ (ख) बाट निर्वाचित हुने फकिरा महतो मधेस प्रदेश सकारको मन्त्री बनेका हुन्।
मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बुधबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्दा फकिरालाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन्।
यसअघि गएको मंसिर २९ गते माओवादीबाट जवाहरलाल कुशबाहा ऊर्जामन्त्री नियुक्त भएका थिए।
०७९ सालमा भएको निर्वाचनमा महतो सर्लाही ४ (ख) बाट ८ हजार ३३ मत ल्याएर विजयी भएका थिए। स्वतन्त्र उम्मेदवार अनिता देवीलाई ३ सय ५७ मतान्तरले पछि पार्दै उनी सांसद बनेका थिए।

जवाहरलाल कुशवाहा भने स्वतन्त्रबाट सांसद निर्वाचित भएपछि माओवादी केन्द्रमा प्रवेश गरेका नेता हुन्। उनले शिक्षकबाट राजीनामा दिएर चुनाव लडेका थिए।
प्रत्यक्ष निर्वाचित सांसद भएकाले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा कुशवाहा र महतो दुवैलाई मुख्यमन्त्री यादवले मन्त्री नियुक्त गरेका एक नेताले बताए।
०७९ को निर्वाचनमा माओवादी केन्द्रले देशका ७७ जिल्लामध्ये सर्लाहीबाट समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाएको थियो।

तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दल मिलेर नेकपाको गठन भए पनि अहिलेसम्म मधेसमा दुवै दलको छुट्टाछुट्टै अस्तित्व कायमै छ।
एकीकृत समाजवादीका कनिष पटेलले यसअघि नै मधेसमा उद्योग मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।
Shares

प्रतिक्रिया