निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको सूचीका कारण राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद सिर्जना भएको छ।
रास्वपा, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि सोमबार आयोगमा बुझाइएको संयुक्त सूचीप्रति नेताहरू असन्तुष्ट बनेका हुन्।
चितवन र मोरङबाट धेरै जनालाई समानुपातिक उम्मेदवार बनाएको रास्वपाले ४४ जिल्लाको प्रतिनिधित्व गराएको देखिएन।
यति मात्र होइन, आफैँले गराएको प्राइमरी इलेक्सनमा सबैभन्दा बढी मत पाएका नेताहरूलाई समेत समानुपातिक सूचीमा कसैलाई राख्दै राखिएन भने कसैलाई धेरै पछि पारियो। यसले रास्वपाभित्र खैलाबैला मच्चिएको छ।
जबकि रास्वपाले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका लागि पार्टीभित्र प्रि-इलेक्सनबाट उम्मेदवार छनोट गर्ने विधिको सुरुवात गरेको थियो।
सोबमोजिम उसले फागुन २१ गतेका लागि तोकिएको चुनावका लागि मंसिर ४ गते प्रतिनिधिसभा निर्वाचन उम्मेदवार छनोट समिति नै बनायो। जसमा सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्यद्वय चन्दा कार्की र राजन गौतमसहित सातै प्रदेशका सभापति समेटिए। यही समितिले प्रि-इलेक्सन गराएको थियो। जसको अन्तिम परिणाम सोमबार सार्वजनिक गरियो।
सार्वजनिक नतिजाअनुसार खुलातर्फ रमेश प्रसाईं १८ हजार २२३ मतसहित पहिलो स्थानमा छनोट भए। यस्तै, आदिवासी जनजातितर्फ उत्तमबहादुर गुरुङ १६ हजार १२ मतसहित पहिलो स्थानमा उम्मेदवार चयन भए।
दलिततर्फ विजय जैरु १३ हजार १४३ मत प्राप्त गर्दै पहिलो नम्बरमा उम्मेदवार छनोट हुँदा मधेसीतर्फ १५ हजार ७४५ मत प्राप्त गर्दै पुनमकुमारी अग्रवाल पहिलो नम्बरमा परिन्।
यस्तै, थारुतर्फ १७ हजार ४२५ मत प्राप्त गर्दै प्रेमलाल चौधरी पहिलो नम्बरमा समानुपातिक सूचीमा पर्दा समिना मिया मुस्लिमतर्फ १५ हजार ९६७ मत प्राप्त गरेर पहिलो नम्बरमा परिन्।
खुलातर्फ प्रमोद न्यौपाने १४ हजार १६७ मतसहित दोस्रो र रञ्जु दर्शना १३ हजार ५५१ मतसहित तेस्रो स्थान हासिल गर्दै बन्द सूचीमा पर्न सफल भएकी थिइन्।
प्रि-इलेक्सनबाट खुलातर्फकै अन्य नतिजामा टीका संग्रौला चौथो, लिमा अधिकारी पाँचौँ, समीक्षा बास्कोटा छैटौँ, विपिनकुमार आचार्य सातौँ, क्रान्तिशिखा धिताल आठौँ र प्रतिभा रावल नवौँ स्थानमा निर्वाचित भए।
यसैगरी आदिवासी जनजातितर्फ गायिका सत्यकला राई दोस्रो, टासी लाजोम तेस्रो र मिलन लिम्बू चौथो स्थानमा छनोट भएका थिए।
दलिततर्फ अमृता विक दोस्रो, सबिना विश्वकर्मा तेस्रो, स्मृति सेन्चुरी चौथो र अविता नेपाली पाँचौँ स्थानमा परे। मुस्लिम समूहबाट अख्तर हुसैन र मोहम्मद हसरत अली तेस्रो नम्बरमा छनोट भएका थिए।
माथिको तथ्यांक हेर्दा पार्टीको समानुपातिक सूचीमा उनीहरू पर्ने निश्चितजस्तै देखिन्छ।
तर, त्यसो भएन।
रास्वपाले सोमबार बेलुका निर्वाचन आयोगका बुझाएको बन्दसूचीमा उनीहरूमध्ये गुरुङ र जैरु पर्दै परेनन् भने रञ्जु दर्शनालगायत केहीलाई समेटिए पनि धेरै पछि पारिएको छ।
तीमध्ये एक हुन्- रमेश प्रसाईं। जो सबैभन्दा बढी मत पाए पनि आयोगमा बुझाइएको बन्दसूचीमा भने खस आर्यतर्फ पाँचौँ नम्बरमा पारिएका छन्।
जबकि, प्रि-इलेक्सनमा सातौँ स्थानमा देखिएका विपिन आचार्य निर्वाचन भने आयोगमा बुझाइएको बन्दसूचीको खस आर्यतर्फको पहिलो नम्बरमा राखिएका छन्।
यसले प्रि-इलेक्सनकै अवमूल्यन गरिएको भन्दै रास्वपा नेताहरूले असन्तुष्टि जनाएका छन्।
विधि र प्रक्रिया नै मिचेर बन्दसूचीमा उम्मेदवारको नाम तलमाथि पारिएको एक नेताले गुनासो गरे।
‘जसले परीक्षा आह्वान गर्यो, प्रश्नपत्र बनायो, उही जाँच दिन आयो, उही पहिलो भयो,’ विपिन आचार्यतिर संकेत गर्दै ती नेताले नेपालखबरसँग भने, ‘विधि पद्धतिका कुरा गर्नेहरूले नै बिगारे।’
तर, आचार्य भने उक्त आरोप अस्वीकार गर्छन्।
प्रि-इलेक्सनको प्रक्रिया सुरु गरेपछि आफूले संयोजकबाट राजीनामा दिएर समानुपातिक उम्मेदवारका लागि प्रकियामा सहभागी भएको उनको भनाइ छ।
समानुपातिकतर्फको निर्वाचन प्रक्रियामा आवेदन दिएपछि पुस ३ गते संयोजक छोडेको र पार्टीले विराजभक्त श्रेष्ठलाई संयोजक बनाएको उनले बताए।
‘आवेदन दिएपछि सबै प्रक्रियाबाट राजीनामा दिएँ,’ उनले भने, ‘त्यसपछि एकजना उम्मेदवारकै रूपमा सहभागी भएँ।’
समानुपातिक सूचीप्रति नेताहरूले जनाएको असन्तुष्टि स्वाभाविक भएको आचार्य बताउँछन्।
‘मुख्य कुरा त अन्तिम अवस्थामा (बालेन र कुलमानसँग) एकता भयो र दुईतिरबाट आउने नाम धेरै हुँदा हाम्रा केही साथीहरू तलमाथि हुनुभयो,’ आचार्यले थपे, ‘सूचीमा कोही साथी असन्तुष्ट हुनु स्वाभाविक हो।’
समानुपातिक उम्मेदवारको सूची मंगलबार सामाजिक सञ्जालमा छरपस्ट भएपछि रास्वपाका समर्थक, नेता र कार्यकर्ता रुष्ट भएका छन्।
जेनजी अगुवामध्येका एक रक्षा बम र भावना राउत, समानुपातिक सूचीमा परेका रामजी रामलगायतले सामाजिक सञ्जालबाटै विरोध जनाए।
रास्वपाका असन्तुष्ट केही नेताले त मंगलबार प्रि-इलेक्सनका पछिल्ला संयोजक विराजभक्त श्रेष्ठलाई भेटेरै गुनासो गरेका छन्।
‘खासमा म पनि असन्तुष्ट हो। हामीले उम्मेदवार छनोटको जुन प्रक्रिया अपनाएका थियौँ, त्यसलाई कतिको न्याय गर्यौँ? हामीले कर्णाली, सुदूरपश्चिमको आवाज सुन्यौँ कि सुनेनौँ भन्ने कुरा महत्त्वपूर्ण भयो,’ श्रेष्ठलाई भेटेकामध्ये एक नेताले भने, ‘धेरै कुराले बाँधिरहेको छ। पार्टीभित्रको कतिपय विषयमा बोल्न सकिँदो रहेनछ।’
अर्का नेताले भने आफू केन्द्रमा भइसकेपछि विधि मिचे पनि केही हुँदैन भन्ने नेताहरूमा देखिएको आरोप लगाए।
‘जो मान्छेको एकदुई लाख फलोअर्स छ, जो चर्का कुरा गर्छ, उसैलाई प्राथमिकता दिएको जस्तो देखियो,’ ती नेताले भने, ‘प्राइमरी इलेक्सनको धज्जी उडाइयो। अब हामीले के उत्तर दिने? कहाँ गएर कसको विरोध गर्ने? आफ्नै असन्तुष्टि राख्न नपाउँदा निसासिएजस्तो हुँदोरहेछ।’
रास्वपासँग पार्टी एकता गरेका उज्यालो नेपालका संरक्षक कुलमान घिसिङनिकट नेता पनि समानुपातिक सूचीप्रति असन्तुष्ट छन्।
एकता सहमतिअनुसार उनेपाले समानुपातिकतर्फ २२ उम्मेदवार पाउनुपर्नेमा १८ जनाको नाम पठाए पनि बन्दसूचीमा १४ जना मात्रै पारिएको नेता जितराम वाइबा बताउँछन्।
समानुपातिक सूचीले तनाव दिएको उनको भनाइ छ।
‘साथीहरू असन्तुष्ट हुनुभएको छ, यो स्वाभाविक हो,’ उनले भने।
उनेपाबाट पहिलो नम्बरमा राखिएका डा महेन्द्र लावतीलाई रास्वपाको संयुक्त सूचीको १२ नम्बरमा राखिएको छ। आफूलाई पछि पारिएको भन्दै उनले आफ्नो नामै हटाइदिन भनेका छन्।
‘मेरो सहमति बेगर १२ नम्बरमा राखिदिएका रहेछन्। म गाउँमा छु, मैले हटाइदिनु भनेको छु, के गर्छन्,’ उनले नेपालखबरसँग भने।
रास्वपासँग राजनीतिक एकता गरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भने समानुपातिकमा आफ्ना तर्फका ३६ जना उम्मेदवार बनाउन सफल पाएका छन्।
जेनजी आन्दोलनलाई प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गरेका बालेन त्यही व्यक्ति हुन्, जसले पुराना राजनीतिक दलहरूलाई परिवारवाद, नेपो बेबीलगायत आरोप लगाएका थिए।
तर उनै बालेनको समानुपातिक सूचीमा धनाढ्यदेखि इन्फ्लुएन्सरसम्म समेटेका छन्। जसको पनि अहिले विरोध भइरहेको छ।
Shares

प्रतिक्रिया