प्रतिनिधि सभा चुनावाका लागि समानुपातिकतर्फको सूची बुझाउने समय सकिँनै लाग्दा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहले वार्ता गर्ने भएका छन्।
कुलमानलाई मनाउने अन्तिम प्रयासस्वरुप उनीहरूबीच छलफल हुन लागेको हो। ‘हाम्रो र रविजीको टिमबीच अहिले छलफल भइरहेको छ,’ बालेन निकट एक नेताले नेपालखबरसँग भने, ‘अब शीर्ष ३ नेता बस्दै हुनुहुन्छ।’
कुलमानसँग वार्ता गर्न रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट भर्खरै बाहिरिएका छन्। अब तीनै जनाबीच छलफल हुने रास्वपाका एक केन्द्रीय सदस्यले बताए।
आइतबार राति अबेरसम्म रवि, बालेन र कुलमानबीच छलफल चलेको थियो। तर, सहमति जुट्न सकेको थिएन। हिजो सहमति हुन नसकेपछि उनीहरूबीच आज फेरि छलफल गर्ने समझदारी बनेको थियो।
रास्वपा सभापति र बालेनबीचको सहमतिमा कार्यकारी पद बाँडफाँट हुँदा कुलमानलाई पन्छाएपछि उनी असन्तुष्ट छन्। उनले पार्टीमा कार्यभारी भूमिका र निर्वाचनमा राम्रो अनुपातमा उम्मेदवार बनाउन पाउनुपर्ने माग राखेका छन्।
Shares

प्रतिक्रिया