निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक सूची बुझाउने मिति हेरफेर नहुने स्पष्ट पारेको छ।
आयोगले आज (पुस१३) र भोलि बन्द सूची बुझाउने कार्यतालिका बनाएको छ। सो तालिका अब फेरबदल नहुने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
‘मिति थप हुँदैन’ कावा प्रमुख भण्डारीले नेपालखबरसँग भने, ‘अहिले त्यो अवस्था पनि छैन।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरुको सूची बुझाउने समय थप ५ दिन बढाउन आग्रह गरेका थिए।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको शीर्ष ३ नेताहरुको छलफलमा उनले पार्टीभित्र समस्या भएकाले थप ५ दिन थप्नुपर्ने देउवाको माग थियो।
त्यसमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सहमति जनाएका थिए। आवश्यक परेको हो भने ५ दिन थपिदिँदा निर्वाचन तालिकामा ठूलो असर नपर्ने प्रचण्डले बताएका थिए।
तर, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री जगदीश खरेलले भने यो विषय कांग्रेसले यसअघि सिंहदरबारमा भएको छलफलमा पनि उठाएको तर आयोगले समय बढाउन नसकिने स्पष्ट पारेको स्मरण गराएका थिए।
आयोगले आज र भोलिका लागि बन्द सूची बुझाउने कार्यतालि अनुसार आज नेपाल मजदुर किसान पार्टीसहित तीन दलले बन्द सूची बुझाएका छन् भने १३५ दलले निस्सा लिएका आयोगले जनाएको छ।
Shares

प्रतिक्रिया