राजनीति


पम्फा भुसालको घोषणा : प्रत्यक्ष चुनाव नलड्ने, समानुपातिकमा नबस्ने

पम्फा भुसालको घोषणा : प्रत्यक्ष चुनाव नलड्ने, समानुपातिकमा नबस्ने

नेपालखबर
पुस १३, २०८२ आइतबार १३:४४, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा भुसालले आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन्। 

आइतबार सामाजिक सञ्जाल फेसबुकमाफर्त भुसालले चुनाव नलड्ने घोषणा गरेकी हुन्। उनले भनेकी छन्, ‘आगामी निर्वाचनमा उठनेबारे देशभरिका साथीहरूबाट जिज्ञासा आइरहेका छन्। यसपटक म प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेकी छु।’

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुरलगायतका देशका विभिन्न क्षेत्रबाट उनलाई उम्मेदवार सिफारिस गरिएको छ। उम्मेदवार बन्ने प्रस्ताव स्वीकार गर्न नसक्ने बताउँदै उनले भनेकी छन्, ‘फागुन २१ मा हुने  निर्वाचनमा मलाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिनँ। प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद।’

यसअघि दुई पटक प्रत्यक्ष चुनाव जितेको र मन्त्री भइसकेको उल्लेख गर्दै त्यो अनुभवलाई पार्टी निर्माणमा लगाउने उनको भनाइ छ। भुसालले लेखेकी छन्, ‘म पहिले नै दुई पटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु। अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत  रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ।’

आउँदो चुनावमा नयाँलाई अवसर दिनुपर्ने उनको भनाइ छ। ‘अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ,’ उनले भनेकी छन्, ‘त्यसैले अपवादबाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उम्मेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ।’

गत २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा उनी ललितपुर-३ बाट उम्मेदवार बनेकी थिइन्। यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की तोसिमा कार्की निर्वाचित भएकी थिइन्। 

कार्कीले ३१ हजार १३६ मत पाएकी थिइन् भने दोस्रो नम्बरमा रहेका नेकपा (एमाले)का अमृत खड्काले १२ हजार ९६३ मत पाएका थिए। तेस्रो नम्बरमा रहेकी भुसालले ८ हजार ७६९ मत पाएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad