प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद् सदस्य सुदन किरातीले जेनजी विद्रोहसँगै ‘सिंह’ भनिने पुराना नेताहरू अहिले सीमित कार्यकर्ताको घेराभित्र बस्न बाध्य भएको टिप्पणी गरेका छन्।
पार्टीको कोसी प्रदेशको भेलालाई शनिबार सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी भित्रभित्रै चुनावी गठबन्धनको तयारीमा रहेको समेत दाबी गरे।
‘कांग्रेस, एमाले र कम्युनिष्ट पार्टी भित्रभित्रै चुनावी गठबन्धनको तयारी गरिरहेका छन् र ठगहरूले फेरि भेष परिवर्तन गरी जनतालाई झुक्याउन आउन सक्छन्। यस्तो बेला नयाँ शक्तिहरू अत्यन्तै सचेत रहनुपर्छ,’ किरातीले भने।
उनले श्रम संस्कृति पार्टी र उज्यालो नेपाललगायत पार्टीसँग एकता गर्न तयार रहेको समेत बताए। ‘श्रम संस्कृति पार्टी र उज्यालो नेपाललगायत पार्टीसँग हामी एकता गर्न तयार छौँ भने अन्य शक्तिसँग चुनावी गठबन्धन गर्न पनि खुला छौँ,’ किरातीले भने, ‘यस बेला ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने सोच कसैले नराखोस्। लक्ष्यलाई प्रमुख बनाऔँ, अरू सबै सहायक हुन्।’
पुराना दलका प्रगतिशील, जुझारु व्यक्ति र समूहहरूले पनि आँट गर्नुपर्ने जिकिर गरे।
Shares

प्रतिक्रिया