राजनीति


सम्झौताको ड्राफ्ट बनाउँदै बालेन-रवि कार्यदल

बालेनलाई दोस्रो वरीयता र प्रधानमन्त्रीको उम्मेदवार
सम्झौताको ड्राफ्ट बनाउँदै बालेन-रवि कार्यदल

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १३:३४, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आगामी चुनावमा मिलेर जानका लागि गठन गरेको कार्यदलको निर्णायक बैठक बसिरहेको छ। 

दुवै पक्षबीच हुने सम्झौताको ‘ड्राफ्ट’ बनाउनका लागि कार्यदल जुटिरहेको बालेन निकट एक नेताले नेपालखबरलाई जानकारी दिए। ‘आज सम्झौताको ड्राफ्ट फाइनल गर्नका लागि कार्यदल छलफलमा छ,’ ति नेताले भने, ‘आजै हस्ताक्षर होला वा नहोला, घोषणा गरिनहालौंँ।’

सम्झौताको ड्राफ्ट बनाउने कार्यदलमा सुनिल लम्साल, शिशिर खनाल, असिम साह, कुमार ब्यञ्जनकार छन्। ती नेताका अनुसार, अहिलेसम्म रास्वपा सभापति रवि लामिछानेले बालेनलाई आफूभन्दा पछाडिको वरीयता दिन तयार रहेको सन्देश पठाएका छन्।

‘बालेनलाई पार्टीको दोस्रो वरीयता र आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेवार प्रोजेक्ट गरेर जाने लगभग निश्चित जस्तै देखिन्छ। यदि प्राविधिक कार्यले नरोकिए यसै सेरोफेरोमा सहमति हुनेछ,’ उनले भने। 

बालेन र रविबीच यसअघि भएका वार्तामा पनि बालेनले आफूलाई आउँदो चुनावमा प्रधानमन्त्रीको उम्मेदवार ‘प्रोजेक्ट’ गरेर जानुपर्ने शर्त राख्दै आएका थिए। सोमबार भएको दुवै जनाको भेटवार्तामा रास्वपाले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारे मात्रै मिल्न सकिने बताएका थिए। 

‘रास्वपाका सभापति रवि लामिछानेसँग शक्ति बाँडफाँट सम्मानजनक हुनुपर्छ भन्नुको अर्थ आउने चुनावमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार हुनुपर्छ भन्ने हो, प्रधानमन्त्रीको उम्मेदवार हाम्रो बटमलाइन हो,’ सोमबारको भेटपछि बालेनका एक सहयोगीले भनेका थिए, ‘यदि भएन भने देशविकास पार्टीलाई अगाडि लाने हो, त्यही अनुसार तयारी अघि बढिसक्यो।’

त्यसपछि बुधबार बालेनले ज्वागलस्थित सहयोगी कुमार ब्यञ्जनकारको घरमा विभिन्न दलका नेतासँग भेटवार्ता गरेका थिए। त्यसक्रममा बालेनले रास्वपा सभापति लामिछाने, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतलाई भेटेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad