राजनीति


हिजो र आज बालेनसँग भेटेका ज्ञानेन्द्र शाही– युवाशक्तिहरू मिलेर जानुपर्छ भन्नेमा केन्द्रित भयौँ

हिजो र आज बालेनसँग भेटेका ज्ञानेन्द्र शाही– युवाशक्तिहरू मिलेर जानुपर्छ भन्नेमा केन्द्रित भयौँ

नेपालखबर
पुस १०, २०८२ बिहिबार १८:१७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँगको भेटघाटपछि युवाशक्ति र वैकल्पिक शक्तिहरू एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

महानगर प्रमुख शाहसँग चरणबद्ध छलफल भएको पुष्टि गर्दै उनले देश निर्माणका लागि नयाँ शक्ति र युवाहरू एकीकृत भएर जाने विषयमा गहन छलफल भएको जानकारी दिए। उनले मुलुकको विकास र जनताको अपेक्षा पूरा गर्न वैकल्पिक शक्तिहरू मिलेर जानु नै एक मात्र र अन्तिम विकल्प भएको धारणा राखे।

शाहीका अनुसार आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मात्रै लक्ष्य नराखी मुलुकको दीर्घकालीन हितलाई केन्द्रमा राखेर राजनीतिक सहकार्यको मोडालिटीबारे छलफल भइरहेको छ। उनले १६५ वटै निर्वाचन क्षेत्रमा पकड बनाउन सक्ने गरी वैकल्पिक शक्तिहरू मिल्नुपर्नेमा आफूले जोड दिएको बताए।

‘उहाँ (बालेन्द्र शाह) सँग हिजो र आज पनि छलफल भयो, जतिपनि युवाशक्ति र वैकल्पिक शक्तिहरु छौँ,’ शाहीले भने, ‘सबै एकजुट बनेर राष्ट्र निर्माण गर्न मिलेर अगाडि बढौँ भन्ने कल्पनाका साथ हामी भेठघाट गरिरहेका छौँ। अब यही नै गर्ने भन्ने निश्चित भइसकेको छैन। अब पार्टीहरु मिलाएर जाने हो कि? के गर्ने भन्ने छलफलमा छौँ। छलफल केही आन्तरिक र केही बाहिरी कुरा समेत भएकोले यी कुराहरु वार्ता सकिएपछि थाहा भैहाल्छ। अहिले विषेश गरी युवाशक्तिहरू मिलेर जानुपर्छ भन्ने कुरामा नै छलफल केन्द्रित भयो। वैकल्पिक शक्तिहरु मिलेर जानुको विकल्प छैन। त्यो मात्र एक र अन्तिम विकल्प हो।’

शाहीले शक्ति एकल प्रयासबाट नबन्ने उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नभएको अवस्थामा १६५ वटै निर्वाचन क्षेत्रमा पकड जमाएर संसदमा बहुमत पुर्‍याउनुपर्ने चुनौती रहेको बताए। ‘फेरी यो के हो भने शक्ति बन्ने कुरा हो, शक्ति एकलबाट बन्दैन,’ उनले भने, ‘यदि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भइदिएको भए एक जना व्यक्ति मात्र पपुलर भएर काम हुन्थ्यो। यहाँ त  १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो पकड जमाउन सक्नुपर्छ।’ 

उनले राम्रा मान्छेहरू नमिलेकै कारण मुलुकले सामाजिक–आर्थिक समृद्धि हासिल गर्न नसकेको टिप्पणीसमेत गरे। ‘निर्वाचन जितेर आइसकेपछि संसदमा बहुमत पुर्‍याउन सक्नुपर्‍यो,’ शाहीले भने, ‘त्यसकारण हामी कसरी अगाडि बढ्ने? चुनाव जित्नु मात्र मुख्य मुद्दा होइन। चुनाव जितेपछि हामीले गर्नुपर्ने के हो? कसरी हामीले यो खर्चिलो व्यवस्थालाई धान्न सक्छौँ? भन्ने विषयलाई मध्यनजर गर्दै अगाडि बढ्दा राम्रो हुन्छ भन्ने मलाई लाग्छ।’ 

शाहीका अनुसार राजनीतिक सहकार्यबारे अन्तिम निष्कर्ष ननिस्किए पनि वार्ता टुंगिएपछि थप विषय सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad