राजनीति


चिकित्सक संघमा कांग्रेस, एमाले र स्वतन्त्रको त्रिपक्षीय भिडन्त, प्यानल बनाएरै चुनावमा होमिए डाक्टर

चिकित्सक संघमा कांग्रेस, एमाले र स्वतन्त्रको त्रिपक्षीय भिडन्त, प्यानल बनाएरै चुनावमा होमिए डाक्टर

प्रज्ञा तिम्सिना
पुस ३, २०८२ बिहिबार २०:४५, काठमाडौँ

नेपाल चिकित्सक संघ (एनएमए) को १९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि तीन प्यानलबीच भिडन्त हुने भएको छ। 

आगामी माघमा हुने निर्वाचनका लागि डा बद्री रिजाल, डा मंगल रावल र डा नारायण भुषालले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। १९ सदस्यीय केन्द्रीय कार्यसमितिको लागि ४७ जनाले उम्मेदवारी दर्ता गरेका हुन्।  

निर्वाचन कार्यतालिका अनुसार काठमाडौँ उपत्यकाबाहिर माघ २ र ३ गते तथा काठमाडौँ उपत्यकाभित्र माघ १५, १६ र १७ गते मतदान हुनेछ।

नेपाल चिकित्सक संघको विधान अनुसार १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष सहित ७ प्रदेशबाट एकएक जना प्रादेशिक संयोजक उपाध्यक्ष, समेत निर्वाचित हुनेछन्। त्यस्तै, महासचिव, कोषाध्यक्ष, सहसचिव, सहकोषाध्यक्ष र ६ सदस्यसहित १९ जनाको केन्द्रीय कार्यसमिति बन्ने छ। 

कांग्रेसनिकट डा बद्री रिजाल 
डा बद्री रिजाल नेपाल ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदबाट राजीनामा दिएर चुनावमा होमिएका छन्। अध्यक्ष पदमा उम्मेदवारी दिएपछि उनले बिहीवार स्वास्थ्यमन्त्री सुधा गौतमलाई राजीनामा बुझाएका हुन्। डा रिजाल हाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष समेत हुन्। 

महासचिवदेखि  वरिष्ठ उपाध्यक्ष भएर काम गरेका उनले यो पटक प्यानल नै बनाएका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट एमबीबीएस र हाडजोर्नी विषयमा स्नातकोत्तर गरेका उनी नेपाली कांग्रेसनिकट हुन्।

महासचिव र वरिष्ठ उपाध्यक्ष भएर काम गर्दाको अनुभवका आधारमा चिकित्सकको हकहित संरक्षण गर्न उम्मेदवारी दिएको उनले बताए। रिजाल हाल भइरहेको कामलाई निरन्तरता दिने पनि उनको भनाइ छ।

डा रिजालको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी, महासचिवमा डा विश्वराज दुवाडी, कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिवमा डा हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा तेजसु सिंह मल्लले उम्मेदवारी दर्ता गराएका छन्। 

प्रादेशिक संयोजक उपाध्यक्षमा कोसीमा डा रोशन खड्का, मधेसमा डा अमित रञ्जन मिश्र, बागमतीमा डा सुवास भट्टराई, गण्डकीमा डा नवराज लम्दारी, लुम्बिनीमा डा नन्द गुरुङ र सुदूरपश्चिममा डा प्रमोद जोशीले उम्मेदवारी दिएका छन्। डा रिजालको प्यानलमा कर्णाली प्रदेश संयोजकमा भने उम्मेदवारी परेको छैन। 

त्यसैगरी सदस्यहरूमा डा परशुराम घिमिरे, डा राकेश साह, डा सुमेध मिश्र, डा बिना श्रेष्ठ, डा सुस्मित काफ्ले र डा हिमाल भण्डारी रहेका छन्। 

एमालेनिकट डा मंगल रावल 
हुम्लामा जन्मिएका डा मंगल रावल जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)का पूर्वउपकुलपति हुन्। नेकपा एमालेनिकट मानिने डा रावल नेपालको कान्छो उपकुलपति समेत हुन्। 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट हाडजोर्नी विषयमा स्नातकोत्तर गरेका छन्। जुम्लामा एमबीबीएस अध्ययन सुरु गराउनदेखि अस्पताल विस्तारमा उनले योगदान पुर्‍याएका छन्। 

चिकित्सक संघ चिकित्सक मैत्री नभएको देखेर अध्यक्ष पदका लागि उम्मेवारी दिएको उनी बताउँछन्। 

उपकुलपति भइसकेको व्यक्ति चिकित्सक संघको निर्वाचनमा लड्नुले पनि त्यही संकेत गर्ने उनको भनाइ छ। उनले पनि चिकित्सकको हकहितकै लागि अध्यक्ष पदमा उम्मेवारी दिएको बताए। 

‘देशभर ४० हजार चिकित्सक छन्। तर एनएमएमा १६ हजार मात्र सदस्य छन्। यो भनेको यो संस्थाले हामीलाई केही गरेन भनेर चिकित्सक जोडिनै छाडेका हुन्। एनएमएको गरिमा गुम्दै गएको छ। चिकित्सकले नै विश्वास गर्ने अवस्था छैन। चिकित्सक संस्थामा जोडिन चाहँदैनन्। यो अवस्था हटाएर चिकित्सकको विश्वास जित्ने गरी एजेन्डा लिएर आएको छु,’ उनले भने। 

राजनीतिक निर्देशनमा चिकित्सक संघ चल्ने गरेको बताउने उनी नेताहरूले भनेपछि चिकित्सकहरूको आन्दोलन फिर्ता लिने र उनीहरूकै निर्देशनमा चल्ने अवस्था अन्त्य गराउन आफू उम्मेदवार भएको बताउँछन्।

‘पार्टीगत रुपमा भन्दा पनि स्वतन्त्र रुपमा काम गर्छु भनेर उम्मेदवारी दिएको छु,’ उनले भने।

रावल नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा डा कीर्तिपाल सुवेदी र महासचिवमा डा कालुसिंह खत्री रहेका छन्। कोषाध्यक्षमा डा चाँदनी जयसवाल, सहसचिवमा डा रामजीवनप्रसाद यादव र सह–कोषाध्यक्षमा डा सुवास गुरुङले उम्मेदवारी दिएका छन्। 

प्रादेशिक संयोजक उपाध्यक्षमा कोसीमा डा टंक बाराकोटी, मधेसमा डा उदयनारायण सिंह, बागमतीमा डा अरुण शाही, गण्डकीमा डा यज्ञराज सिग्देल, लुम्बिनीमा डा सन्तोष पोखरेल, कर्णालीमा डा रविन खड्का र सुदूरपश्चिम डा निरज अर्याल छन्। 

डा अमित झा, डा अरुण उप्रेती, डा निराजन तामाङ, डा जेवाना अन्सारी, डा दीक्षा बोहरा र डा पल्पसा श्रेष्ठले उनको प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिएका छन्। 

स्वतन्त्र डा नारायण भुषाल
डा भुषाल युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक हुन्। किष्ट मेडिकल कलेजमा कार्यरत उनी स्वतन्त्र उम्मेदवार हुन्। 

डा भुषालले पहिलो पटक ८० वर्षकी वृद्ध महिलाको मिर्गौला निकालेर प्रत्यारोपण गराउने देखि नेपालमै पहिलो पटक कलेजो र मिर्गौला प्रत्यारोपण एकै पटक गराएका थिए। 

स्वतन्त्र चिकित्सकहरूको साथ र सहयोगबाट नै चुनावमा उठ्ने मनोबल बढेको उनी बताउँछन्। 

नेपालमा चिकित्सक पेसालाई समाजले हेर्ने आस्थाको दृष्टिकोण कम हुँदै गएकाले चिकित्सक संघमा बसेर त्यो आस्थालाई मजबुत बनाउन आफनो उम्मेदवारी परेको उनी बताउँछन्। 

‘स्वास्थ्यको जिम्मा लिएको पेसाको प्रतिष्ठान गुम्दै गएको छ। बिरामी र चिकित्सकबीच ठूलो द्वन्द्व छ। संघले चिकित्सकको गुमेको साखलाई उकास्न कुनै भूमिका निर्वाह गर्न सकेन। सदस्य नभएका चिकित्सकलाई अपनत्व महसुस गराउन सकेको छैन। गुमेको प्रतिष्ठालाई उकास्न पर्ने छ,’ उनले भने। 

भुषालको प्यानलमा उपाध्यक्षमा डा अजयकुमार मिश्र, महासचिवमा डा अमित भुषाल र सहसचिवमा डा सन्तोष अधिकारीले उम्मेदवारी दिएका छन्।
 
प्रादेशिक संयोजक उपाध्यक्षमा बागमतीमा डा एकानन्द सिं, र कर्णालीमा डा अनुप समालको उम्मेदवारी परेको छ। 

त्यसैगरी सदस्यहरूमा डा विजयकुमार शाह, डा शेषराज घिमिरे, डा भवानी शिल्पकार र डा आरती शाह रहेका छन्। 

डा भुषालको प्यानलमा आवेदन दिएकामध्ये वरिष्ठ उपाध्यक्ष, कोसी, मधेस, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश संयोजक र २ सदस्यको दर्ता खारेज भएको छ। 

२००७ साल फागुन २० गते स्थापना भएको चिकित्सक संघ नेपालको सबैभन्दा पुरानो पेसागत संस्था समेत हो। 

काउन्सिलमा दर्ता भएका ५० प्रतिशत चिकित्सक पनि संघमा आबद्ध नहुनुले संघप्रति चिकित्सककै विश्वास नभएको देखिएको उनीहरूको गुनासो छ।

‘ट्रेड युनियनमा बदलियो संघ’
नेपाल चिकित्सक संघका आजीवन सदस्य डा श्रीकृष्ण गिरी चिकित्सक संघ पेसागत संगठन जसरी आफ्नो सदस्यमा मात्रै केन्द्रित हुन थालेको बताउँछन्।

‘नेपाल चिकित्सक संघको परिकल्पना गर्दा ट्रेड युनियनको रुपमा सोचिएको नै थिएन। स्वास्थ्य सेवाको विकास र जनताप्रति उत्तरदायी बनाउन विकास गरिएको थियो। तर, सदस्यहरूको स्वार्थ पूरा गर्न मात्र केन्द्रित हुन थाल्यो। त्यसले चिकित्सक संघको छवि बिगार्दै लगेको छ,’ डा गिरी भन्छन्, ‘अन्य ट्रेड युनियनकै हिसाबले जान खोजेको छ। स्थापनाको उदेश्यभन्दा फरक जान थालेको छ। चिकित्सकको वृद्धि विकाससँगै सर्वसाधारणको स्वास्थ्यप्रति पनि जिम्मेवार बन्न गठन गरिएको संस्था सदस्यहरूको स्वार्थकालागि केन्द्रित हुन थाल्यो। दलको स्वार्थमा पनि डुब्न थाल्यो।’

डा गिरी चिकित्सकहरू दलमा आबद्ध भएका कारण पनि संघले आफ्नो उदेश्य छाडेको बताउँछन्।

‘चिकित्सकले राजनीति गर्नै हुँदैन भन्ने होइन, तर पार्टीगत रुपमा आबद्ध भएका चिकित्सकहरू चयन हुँदा त्यही पार्टीको सरकार बन्दा सोही अनुसार निर्णय  हुन्छ। त्यसले न त चिकित्सकको वृत्ति विकासलाई सहयोग गर्छ, न त गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै गर्छ,’ डा गिरी भन्छन्, ‘पार्टीगत संगठन भएको व्यक्तिको नेतृत्व आउँदा सो व्यक्तिले सरकारसँग लचकता देखाउँछ। यस्तो व्यक्तिहरू आउनु हुँदैन। पार्टीगत आबद्धता भए पनि पार्टीभन्दा फरक तरिकाले काम गर्न सक्ने क्षमता देखाउन सक्ने नेतृत्व आउनु पर्छ।

नेपाल मेडिकल काउन्सिल गठन हुन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको संस्था ट्रेड युनियन बन्दै गएकोमा निकै नराम्रो लाग्ने डा गिरीको भनाइ छ।

‘चिकित्सा सेवा र शिक्षामा पनि भूमिका खेल्नसक्ने व्यक्ति आउनुपर्छ,’ उनी भन्छन्, ‘नत्र संघको साख अझ खस्किँदै जान्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad