केन्द्रीय नेतृत्वसँगै नेकपा (एमाले)को एघारौँ महाधिवेशनले २४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ।
महाधिवेशनले पारित गरेको समसामयिक प्रस्तावमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको समीक्षा गरिएको छ।
प्रस्तावको चौथो बुँदामा भनिएको छ, ‘भदौ २३ र २४ गते मुलुकमा घटित घटनाक्रम र त्यसपछि उत्पन्न असामान्य परिस्थितिका सम्बन्धमा नेकपा (एमाले) संवेदनशील, चिन्तित र गम्भीर छ। उक्त घटनापश्चात् राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, विकास र समृद्धिको बाटो नै संकटको दिशातिर उन्मुख भइरहेको पृष्ठभूमिमा ११औँ राष्ट्रिय महाधिवेशन मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउने संकल्प गर्दछ। त्यसका लागि सिंगो पार्टी पंक्ति एकताबद्ध र अविचलित दृढताका साथ अगाडि बढ्न प्रतिबद्ध छ।’
यससँगै एमाले महाधिवेशनले जेनजी आन्दोलनको भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेको छ। यससँगै जेनजी आन्दोलनमा घुसपैठ भएको जनाउँदै षडयन्त्रका रुपमा अथ्र्याएको छ।
‘नवयुवाहरूले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरेर जसरी निहत्था युवाहरूको हत्या हुने स्थिति सिर्जना गरियो, यो सामान्य सुरक्षा कमजोरी मात्रै थिएन,’ एमालेले भनेको छ, ‘भदौ २३ गते कुनै न कुनै दुःखद घटना घटाएर भदौ २४ गते देशमा विध्वंश मच्चाउने सुनियोजित तयारी भइरहेको थियो भन्ने विभिन्न तथ्यहरूले पुष्टि गर्छन्। यो महाधिवेशन यस घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन, सबै तथ्यहरूको सार्वजनिकीकरण र संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दछ।’
Shares

प्रतिक्रिया