नेकपा (एमाले)को १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएका छन्।
एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार, सचिवमा पद्मा अर्याल निर्वाचित भएकी हुन्। उनले १ हजार ५३० मत पाइन्।
एमाले सचिवमा २० जनाले प्रतिस्पर्धा गरेका थिए। जसमा अर्याल दोस्रो नम्बरमा रहँदै सचिव निर्वाचित भएकी हुन्।
सचिवमा तीन जना महिलाले प्रतिस्पर्धा गरेका थिए। रचना खड्का र पेम्बा लामा पराजित भए। खड्काले ८७७ र पेम्बाले ४९३ मत पाइन्। एमाले सचिवमा १ हजार १०८ मत पाउनेसम्मका नौ उम्मेदवार निर्वाचत भए।
सचिवमा अर्यालसँगै महेश बस्नेत (१५४४), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३), हिक्मतकुमार कार्की (१३३७), खगराज अधिकारी (१२३१), यामलाल कँडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) निर्वाचित भएका छन्।
त्यस्तै, एमाले पदाधिकारीमा महिलाले प्रतिस्पर्धा गरेको अर्को पद थियो, उपाध्यक्ष। एमाले उपाध्यक्षका लागि प्रतिस्पर्धा गरेकी बिन्दा पाण्डे पराजित भइन्। उनले ९२१ मत पाइन्।
एमाले उपाध्यक्षका ५ पदमा ११ जनाले उम्मेदवारी दिएका थिए। उपाध्यक्षमा १ हजार १३७ मतसम्म पाउने उम्मेदवार निर्वाचित भए।
उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ (१७३७), विष्णुप्रसाद पौडेल (१६७५), रामबहादुर थापा बादल (१५१६), गोकर्णराज विष्ट (१३६८) र रघुजी पन्त (१२५८) निर्वाचित भए।
एमालेको अध्यक्ष, महासचिव र उपमहासचिवमा महिलाको उम्मेदवारी परेको थिएन। अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल फेरि निर्वाचित भएका छन्।
त्यस्तै, उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भए। एमाले विधानमा कम्तिमा एक जना पदाधिकारी महिला हुनुपर्ने व्यवस्था छ।
Shares

प्रतिक्रिया