राजनीति


अर्थ समितिका निवर्तमान सभापति चालिसेको पौने ४ करोड अवैध आर्जन, परिवारै तानियो भ्रष्टाचारमा

अर्थ समितिका निवर्तमान सभापति चालिसेको पौने ४ करोड अवैध आर्जन, परिवारै तानियो भ्रष्टाचारमा

उजिर कार्की
मंसिर २८, २०८२ आइतबार २१:३, काठमाडौँ

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७८ मा अर्थ समितिको काम, कर्तव्य र अधिकारका विषय उल्लेख छ। जसको पाँचौँ बुँदामा लेखिएको छ, ‘कार्यक्षेत्रसँग सम्बन्धित सरकारी निकायको सार्वजनिक सम्पत्तिको हिनामिना भए, नभएको अध्ययन, अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन दिने र बैठकमा प्रतिवेदन पेस गर्ने।’

यो समितिलाई संवैधानिक आयोगका काम कारबाहीको अनुगमन तथा मूल्यांकन गरी प्रतिवेदन दिने र वार्षिक प्रतिवेदनमाथि छलफल गरी सुझाव दिने अधिकार पनि छ। तर, संवैधानिक आयोगमाथि नै निगरानी राख्ने अधिकार भएको अर्थ समितिकै निवर्तमान सभापति गैरकानुनी आर्जनका कारण भ्रष्टाचारको मुद्दामा तानिएका छन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपहिले नेपाली कांग्रेसका सांसद सन्तोष चालिसे अर्थ समितिको सभापति थिए। 

उनी सांसद हुनु पहिले काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका मेयर थिए। २०७९ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित चालिसेविरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

उनको आम्दानीभन्दा ३ करोड ६८ लाख ४७ हजार १६१ रुपैयाँ ७१ पैसा गैरकानुनी आम्दानी देखिएको अख्तियारको निष्कर्ष छ। 

चालिसेले गोकर्णेश्वर नगरपालिकाको मेयरमा कार्यरत रहँदा पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो। 

उनी २०७४ सालदेखि २०७९ सम्म उक्त नगरको मेयर थिए। यही अवधिको ५ वर्षलाई आधार मान्दै अख्तियारले अनुसन्धान गरेको थियो। यो अवधिमा चालिसेका एकाघरका परिवारको विभिन्न स्रोतको आम्दानी र खर्चको हिसाबकिताब अख्तियारले गरेको थियो।

चालिसे मेयरमा निर्वाचित हुनु पहिले उनको बैंक मौज्दात १८ लाख ४० हजार ५२७ रुपैयाँ २४ पैसा थियो। मेयर भएपछि पारिश्रमिक १५ लाख ४९ हजार ६३६ रुपैयाँ २० पैसा बचत देखिएको छ। भत्ता ६ लाख ४० हजार ३३ रुपैयाँ ३३ पैसा पाएको देखिएको छ।

छोरा सागर चालिसे र सञ्जीव चालिसेको निश्चल मेडिसिन सेन्टर एन्ड फार्मेसीको  पारिश्रमिक बचत आय रकम ३३ लाख ५१ हजार २ रुपैयाँ २२ पैसा, सागर चालिसेको इन्जिनियरिङ एन्ड एजुकेशन जोन प्रालिको पारिश्रमिक बचत आय ८ लाख ५६ हजार ८०० रुपैयाँ, बुहारी प्रमिला पोखरेलको पारिश्रमिक बचत आय रकम  १४ लाख ४० हजार ९८ रुपैयाँ २५ पैसा, बोनस रकम २ लाख ९५ हजार २११ रुपैयाँ ९६ पैसा र बैंकबाट लिएको कर्जा १४ लाख २१ हजार रुपैयाँ, सहकारी संस्थाबाट लिएको कर्जा २ करोड ८ लाख ४९ हजार र इन्स्योरेन्स कम्पनीबाट ५ लाख रुपैयाँ कर्जा लिएको देखिएको छ।

चिरायु फर्मास्युटिकल्स प्रालि स्वेच्छिक खारेजी हुँदा ३३ लाख ७ हजार रुपैयाँ, सेयर बिक्रीबाट ३६ लाख ७२ हजार ७०५ रुपैयाँ ५२ पैसा देखिएको छ। बैंकबाट ७ लाख १ हजार ३७ रुपैयाँ ९३ पैसा ब्याज प्राप्त भएको देखिएको छ। कृषिबाट १ लाख ५० हजार ७९३ रुपैयाँ ४८ पैसा र जग्गा बिक्रीबाट ८२ लाख ६० हजार ९८७ रुपैयाँ ४९ पैसा आम्दानी देखिएको छ।

यी सबै गरी चार करोड ८८ लाख ४५ हजार ८३३ रुपैयाँ ६२ पैसा चालिसेका परिवारको कर्जासहितको वैधानिक आय आर्जन देखिएको छ। 

उनीहरूले यही अवधिमा गरेको खर्च पनि अख्तियारले हिसाब गरेको छ। घर निर्माण र फर्निचरमा ७० लाख ३ हजार ८३७ रुपैयाँ २८ पैसा खर्च देखिएको छ।

घरको नक्सा पासमा २६ हजार ८३ रुपैयाँ २० पैसा, उग्रतारा स्यान्ड एन्ड फुटबल रिक्रियसन सेन्टर निर्माणमा ८ लाख ४० हजार र यसको सञ्चालनमा १५ हजार ७ सय रुपैयाँ खर्च भएको देखिएको छ। 

बैंकबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीमा ६ लाख ७० हजार ८७ रुपैयाँ १० पैसा, बिमा प्रिमियम भुक्तानीमा ३१ लाख ४२ हजार ९३ रुपैयाँ, कम्पनी लगानीमा ४१ लाख ९१ हजार ६ सय रुपैयाँ, शिवम् बचत तथा ऋण सहकारी संस्थाबाट लिएको कर्जाको साँवा र ब्याज भुक्तानीमा २ करोड १८ लाख ७० हजार ६९५ रुपैयाँ र सेयर खरिदमा ९१ लाख १९ हजार ८४० रुपैयाँ खर्च गरेको पाइएको छ।

कर्जा लिँदा तिरेको सेवा शुल्क एक लाख ४५ हजार ९९५ रुपैयाँ, सहकारीबाट लिएको कर्जा नवीकरणमा एक लाख २३ हजार ४१० रुपैयाँ, जग्गा खरिदमा २ करोड ८९ लाख ६४ हजार ९१० रुपैयाँ ९९ पैसा, जग्गा बिक्रीको लाभ कर १ लाख ५ हजार ५ सय, व्यवसाय कर २ हजार ३६० रुपैयाँ र सवारी कर १ लाख ४१ हजार ६५० रुपैयाँ तिरेको पाइएको छ।

सवारी कर्जाको साँवा र ब्याज ३७ लाख ८३ हजार २६२ रुपैयाँ ६६ पैसा, इन्स्योरेन्स कम्पनीबाट लिएको कर्जाको साँवा र ब्याज ५ लाख ८० हजार ७५३ रुपैयाँ र जाँच अवधिसम्ममा रहेको अन्तिम मौज्दात ४९ लाख ५५ हजार ८१८ रुपैयाँ १० पैसा देखिएको छ।

यो अवधिमा उनले ८ करोड ५६ लाख ८३ हजार ५९५ रूपैयाँ ३३ पैसा बराबरको सम्पत्ति खर्च तथा लगानी गरेको देखिएको अख्तियारको निष्कर्ष छ।

समग्र आय ४ करोड ८८ लाख ३५ हजार ८३३ रुपैयाँ ६२ मात्रै देखिए पनि ८ करोड ५६ लाख ८३ हजार ५९५ रूपैयाँ ३३ पैसा खर्च तथा लगानी गरेको देखिएको छ। 

चालिसे परिवारको आम्दानीभन्दा तीन करोड ६८ लाख ४७ हजार ७६१ रूपैयाँ ७१ पैसाको स्रोत पुष्टि हुन नसकेको अख्तियारको दाबी छ। यो रकम गैरकानुनी रुपमा आर्जन गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

सन्तोष चालिसेलाई अख्तियारले बयानमा बोलाएपछि उनले त्यो रकम ऋण, सापटी लिएको दाबी गर्दै तमसुक समेत पेस गरेका थिए। उनले आफ्नो परिवारका नाममा भएको खर्च पनि अन्य व्यक्तिबाट भएको दाबी अख्तियार समक्ष गरेका थिए। 
तर चालिसेले यसो गरेर भ्रम सिर्जना गर्न कोसिस गरेको अख्तियारले अभियोग पत्रमा भनेको छ।

वैधानिक स्रोत पुष्टि गर्न नसकेको भन्दै अख्तियारले सन्तोष चालिसेको परिवारलाई नै प्रतिवादी बनाएको छ। जसमा उनकी श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सञ्जीव चालिसे र बुहारी प्रमिला पोखरेललाई भने सम्पत्ति जफतको लागि प्रतिवादी बनाइएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad