नेकपा एमालेका उपाध्यक्ष्य अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको विधान संशोधनतिर नलाग्न सुझाव दिएकी छन्।
बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले विधान संशोधनको प्रस्ताव पेस गर्न लागेको थाहा पाएपछि उपाध्यक्ष्य शाक्यले त्यसलाई रोक्न आग्रह गरेकी हुन्।
‘अध्यक्ष कमरेडले विषय प्रवेश गराउनु हुन्न भन्ने लागेको थियो, तर यो यहाँ प्रवेश भएपछि कुरा गर्नुपर्ने भयो। विधि र विधानसम्मत चलौँ, नेताले फराकिलो मन बनानुस्, पार्टीलीई नीति प्रदान बनाऔँ, मुख्य कुरा विधि हो’, उनले बैठकमा भनिन्, ‘मैले अध्यक्ष कमरेडसँग भएको कुरा स्मरण गर्न चाहन्छु। ७० पुगेपछि मैले काम गर्दिनँ भनेको थिएँ, उहाँले सँगै बिदा लिऔँला भन्नुभएको थियो। म नभई चल्दैन भन्ने कुराबाट मुक्त होऔँ। आम जनताको चासो र चाहनालाई ख्याल गर्दै यो संशोधनतिर नलागौँ। हामी मात्र होइन प्राधिकार। अब विधान संशोधनको विषय प्रवेश नगरौँ।’
महाधिवेशन उद्घाटनको अघिल्लो दिन शुक्रबार साँझ बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले विरोध गरेपछि विधान संशोधनको प्रस्ताव रोक्न बाध्य भएका ओलीले आज आफ्नो बहुमत रहेको केन्द्रीय कमिटी बैठकमा यो अघि बढाउन खोजेका छन्।
त्यस क्रममा उनले चलाखीपूर्ण रणनीति अपनाउँदै सुरुमा आफूपक्षीय केन्द्रीय सदस्यहरूलाई विधान संशोधनका पक्षमा बोल्न लगाएका थिए।
शुक्रबार सचिवालय बैठकमा ओलीले विधान संशोधन गरेर २ उपाध्यक्ष र २ सचिव थप्ने प्रस्ताव राखेका थिए। तर ईश्वर पक्षका नेताले विरोध गरेपछि उनी रोकिन बाध्य भएका थिए।
एमालेको दसौँ महाधिवेशनमा एक अध्यक्ष, वरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ७ सचिव गरेर १९ जना पदाधिकारी र ३०१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
तर गत भदौ २०–२२ मा ललितपुरमा सम्पन्न दोस्रो विधान महाधिवेशनले वरिष्ठसहित ४ उपाध्यक्ष हटाएर तीनमा झारेको छ।
यस्तै एक महासचिव, तीन उपमहासचिव र सात जना सचिव राख्ने निर्णयलाई विधान महाधिवेशनले अनुमोदन गरेको थियो।
तर तेस्रो कार्यकाल अध्यक्ष बन्न खोजेका ओलीलाई आफ्नै पक्षका धेरै नेताले पदाधिकारी दाबी गरेपछि व्यवस्थापन गर्न कठिन भइरहेको छ।
झन् वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा उठ्ने घोषणा गरेपछि ओलीले सबैलाई समेट्न विधान महाधिवेशनबाट घटाइएको पदाधिकारी, केन्द्रीय सदस्य संख्या बढाउन चाहेका छन्। जसलाई पोखरेल पक्ष रोक्न चाहन्छ।
Shares

प्रतिक्रिया