नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनबिन्दु आफू भएको दाबी गरेका छन्।
लामो समयदेखि पार्टीभित्र र बाहिरका छलफलमा युवा पुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने जोड दिइरहेको भए पनि सुनुवाइ नगरिएकाले पछिल्लो परिस्थिति निर्माण भएको टिप्पणी उनले गरे।
आफूले कोरोना महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व माग गरेको स्मरण पनि कोइरालाले गराए।
शनिबार विशालनगरस्थित आफ्नै सम्पर्क कार्यलयमा प्रजातन्त्र सेनानी संघ केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँग भएको भेटमा कांग्रेस नेता कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले गरेको योगदानको सधैँ उच्च कदर हुने बताए।

देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै उनले कांग्रेस पार्टी पुनर्निर्माणका लागि अझै सेनानीहरूको सहयोग खाँचो रहेको धारणा राखे।
‘सयौँ योद्धा र युवाहरूको रगत-पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ’, कोइरालाले भने, ‘पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ।’
जिल्लाजिल्लाबाट आएका सेनानीहरूलाई पार्टीको आसन्न महाधिवेशन र आम निर्वाचनमा होमिन कोइरालाले निर्देशन पनि दिए।
Shares

प्रतिक्रिया