नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय तथा निजी सम्पत्तिमा आगजनीलाई आन्दोलन र विद्रोहको नाममा महिमामण्डन गरिएको घटनालाई देश र व्यवस्थामाथिको आक्रमणको संज्ञा दिएका छन्।
एमालेको ११औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले त्यस्तो अवस्थामा स्पष्ट रूपमा विरोध गर्ने पार्टी एमाले मात्रै भएको बताए।
‘जतिबेला राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथि आगो झोस्ने कामलाई नै आन्दोलन र विद्रोहको नाममा महिमामण्डन गरिँदै थियो, त्यतिबेला एमाले मात्रै यस्तो पार्टी रह्यो जसले स्पष्ट भन्यो-यो हाम्रो व्यवस्थामाथिको आक्रमण हो, यो देशमाथिको आक्रमण हो,’अध्यक्ष ओलीले भने।
उनले राज्यको सिंगो प्रणाली तहसनहस पार्ने प्रयास भएको उल्लेख गर्दै त्यस परिस्थितिमा आफूहरू पनि सुरक्षित स्थानमा बसेर अवस्था समीक्षा गर्नुपरेको स्पष्ट पारे। ‘राज्यको सिंगो प्रणाली तहसनहस बनाउन खोजिएको त्यस स्थितिमा केही समय हामी पनि सुरक्षित स्थानमा समीक्षारत भयौँ,’ उनको भनाइ थियो।
अध्यक्ष ओलीले नेता र समाजका अगुवाहरू समाप्त होउन् भन्ने चाहना राख्नेहरूले अहिले व्यंग्य गरिरहेको टिप्पणीप्रति पनि कडा प्रतिक्रिया जनाए ‘नेताहरू, समाजका अगुवाहरू मारिउन् भन्ने चाहना राख्नेहरूले आज ‘हेलिकप्टर चढेर भागे’ भनेर व्यंग्य गर्छन्। त्यो दिनको महाबिनास न हामीले बिर्सेका छौँ, न बिर्सने छौँ,' उनले भने।
उनले सो घटनाको निष्पक्ष छानबिन, दोषीको पहिचान र कडा कारबाही गर्नुपर्नेमा जोड दिए। ‘त्यस दिनको महाबिनासको छानबिन होस्, दोषीको पहिचान होस् र कारबाही होस्,’ ओलीले जोड दिए।
Shares

प्रतिक्रिया