राजनीति


उम्मेदवार सिफारिसमा हतारिँदै कांग्रेस, फेरि गर्‍यो केन्द्रले परिपत्र

उम्मेदवार सिफारिसमा हतारिँदै कांग्रेस, फेरि गर्‍यो केन्द्रले परिपत्र

फाइल तस्बिर


नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १०:१८, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले मातहतका निकायलाई उम्मेदवार सिफारिस गर्न पुनः गम्भीर ध्यानाकर्षण गराएको छ। 

आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न कांग्रेसले पुनः आग्रह गरेको हो। 

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन्। 

कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार यही असोज १५ गते कांग्रेसले पहिलो सूचना जारी गर्दै उम्मेदवार सिफारिस गर्न आग्रह गरेको थियो।

त्यसपछि पुन मंसिर १७ गते मातहतका निकायलाई परिपत्र गर्दै कांग्रेसले त्यस्तो आग्रह गरेको थियो। 

केन्द्रीय कार्यालयको निर्देशनअनुसार धेरै क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन्। तर, कतिपय क्षेत्र र जिल्लाबाट भने अझै उम्मेदवार सिफारिस नभएपछि कांग्रेसले आज पुनः त्यस्तो आग्रह गरेको हो। 

 कांग्रेसका क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा र जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिमा उम्मेदवारको नाम पठाउने प्रावधान छ। प्रदेशले पठाएका नाममा छलफल गरेर कांग्रेस केन्द्रले उम्मेदावर घोषणा गर्दै आएको छ। 

नेपाली कांग्रेस उम्मेदवार सिफारिसमा हतारिए पनि एमालेले भने यसप्रति अहिलेसम्म कुनै चासो देखाएको छैन। त्यसैगरि माओवादी केन्द्रले पनि अहिलेसम्म उम्मेदवारको विषयमा छलफल गरेको छैन।  

एमाले भने अहिले यही मंसिर २७ गतेदेखि हुने पर्टीको ११औँ महाधिवेशनमा केन्द्रीत भएको छ। एमाले अध्यक्ष केपी ओलीले फागनु २१ गतेको लागि घोषित निर्वाचनको विरोध गर्दै विघटित प्रतिनिधिसभा पुनर्थापना हुनुपर्ने बताउँदै आएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad