नेकपा (एमाले) का सचिव लेखराज भट्टले पार्टी नेतृत्वमा केपी शर्मा ओलीकै विकल्प रहेको भन्दै आगामी यात्रामा पनि ओलीकै निर्देशनमा अघि बढ्नुपर्ने बताएका छन्।
मंगलबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टले भने, ‘पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन।’
उनका अनुसार राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान र अखण्डतालाई बलियो बनाउन पनि ओलीको नेतृत्व निरन्तर रहनु आवश्यक छ। उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पूरा गर्न पार्टीले ओलीकै नेतृत्व स्वीकार गरेर अघि बढ्नुपर्ने अवस्था छ।’
भट्टले महाधिवेशनको बहस देशको भावी दिशामा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै थपे, ‘हाम्रो बहस अहिले कहाँ केन्द्रित हुनुपर्छ भने नेपालको भावी भविष्यलाई कसरी अगाडि बढाउने हो। समाजवादउन्मुख नीति लिएर समृद्ध नेपाल, सुखी नेपालीको दिशामा केन्द्रित भएर हामी जानुपर्छ।’
उनले पार्टीभित्र एकता र सुदृढताले नै जनताप्रति काम प्रभावकारी हुने बताउँदै भने, ‘हामी जति सुदृढ र एकताबद्ध हुन्छौँ, त्यति नै एमालेले जनताको काम अगाडि बढाउन सक्छ र राष्ट्रियता तथा सार्वभौमिकता बलियो हुन्छ।’
भट्टले आफू नेतृत्वको सल्लाहअनुसार पार्टीको जिम्मेवारी लिन तयार रहेको पनि बताए।
Shares

प्रतिक्रिया